लोमान्थाङ पनि पूर्णखोपयुक्त गाविस घोषणा

इनेप्लिज २०७२ असोज ६ गते ८:२४ मा प्रकाशित

khop-nepal-aawajमुस्ताङ, ६ असोज । हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाविसलाई पूर्णखोपयुक्त गाविस घोषणा गरिएको छ ।

असोज महिनाभित्र जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने अयिभानअन्तर्गत लोमान्थाङलाई एक कार्यक्रमकाबीच असोज ३ गते पूर्णखोपयुक्त गाविस घोषणा गरिएको हो ।

गाविसभित्रका जन्मेदेखि २४ महिना उमेर समूहका १२ जना बालबालिकाले निरन्तर खोप लिइरहेका र अभिभावकले आगामी दिनमा खोप लगाउने प्रतिबद्धता पछि उक्त क्षेत्रलाई पूर्णखोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, अहिलेसम्म मुस्ताङका छ गाविसका साथै म्याग्दी, अछाम, पाल्पा, नवलपरासी र अर्घाखाँची जिल्ला पूर्णखोपयुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

लोमान्थाङ अहिलेसम्म घोषणा भएका ती सबै क्षेत्रका गाविसमध्ये सबैभन्दा उच्च स्थानमा रहेको गाविस पनि हो । गाविस सचिव घिमु बाङगेल विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले दुर्गम क्षेत्रमा पूर्णखोपको पहुँच पुग्ने आफैँ सकारात्मक पक्ष भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा त्यसलाई निरन्तरता दिन सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु ज्ञवाली, खोप सुपरभाइजर बद्री आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अहिलेसम्म मुस्ताङको मार्फा, जोमसोम, कागबेनी, टुकुचे, कोबाङ र लेते गाविसलाई पूर्णखोपयुक्त गाविस घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया