निजी मोटरसाइकल, सार्वजनिक यातायातको रुपमा प्रयोग

इनेप्लिज २०७२ असोज ६ गते ७:३३ मा प्रकाशित

रौतहट, ६ असोज । सवारीसाधन नचलेपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डमा निजी मोटरसाइकल सार्वजनिक यातायातको रुपमा प्रयोग हुन थालेको छ ।

विगत एक महिनादेखि जारी आन्दोलनका कारण सार्वजनिक सवारीसाधन चल्न नसक्दा यहाँका कतिपय युवाले निजी मोटरसाइकललाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

काठमाडौँबाट आएका तथा अन्यत्र जाने यात्रुलाई स्थानीय युवाले मोटरसाइकलमार्फत ल्याउने लैजाने गरेका छन् । यसरी सेवा प्रदान गरेबापत ती युवाले स्थान विशेषको आधारमा रकम लिने गरेका छन् ।

निजी मोटरसाइकल चाकलले सदरमुकाम गौरलगायत अन्यत्र जान प्रतिव्यक्तिबाट रु ७०० सम्म लिने गरेको पाइएको छ । यसरी जानु आउनु पर्दा मोटरसाइकल चालकले चार जनासम्म यात्रु लैजाने गरेका छन् र यसरी यात्रा गर्दा निक्कै जोखिम मोल्नुपर्ने बाध्यता रहेको स्थानीय वासिन्दाको भनाइ छ ।

संयुक्त मधेसी मोर्चाको बन्दको कारण गौर–चन्द्रनिगाहपुर सडकखण्डमा ३८ दिनदेखि सवारीसाधन चल्न सकेको छैन ।

प्रतिक्रिया