दाङ, ६ असोज । तुलसीपुर–७ स्थित नाउला, आम्वास र बल्लेका स्थानीयवासी आकाशको पानी खान बाध्य छन् । पानीको वैकल्पिक भरपर्दो मुहान नहुँदा यहाँका स्थानीयवासी बर्सेनि यसरी नै समस्यामा पर्ने गरेका छन् ।
“एकगाग्री खानेपानी लिन घन्टौँ लाग्ने गरेको छ, बर्सातको समयमा झनै पानी धसिलो हँुदा सोही पानी खान बाध्य छौँ”– तुलसीपुर–७ बल्ले निवासी चुरे घर्तीले भन्नुभयो ।
भौगोलिक विकटताका कारण नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकाशले गति लिन नसकेको सो वडामा खानेपानीको पनि प्रमुख समस्या रहेको छ । “नजिकमा मुहान छैन भएको एउटा कुवा छ त्यही पनि बर्सातमा हिलामे हुने गर्छ”, स्थानीयवासी हीराकुमारी घर्तीले भन्नुभयो ।
त्यसैगरी पानीको विकल्पमा आकाशबाट आएको पानी भाँडोमा थापेर खान बाध्य भएको उनीहरुको भनाइ छ । दैनिक तीन घन्टा लगाएर पानी लिन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । करिब दुई हजारभन्दा बढी जनसङ्ख्या रहेको वडामा खानेपानीको कुनै योजना नभएको बताइएको छ ।
प्रतिक्रिया