विद्युत् चुहावट रोक्न अभियान

इनेप्लिज २०७२ असोज ६ गते १:५० मा प्रकाशित

electryइलाम, ६ असोज । विद्युत् चुहावट रोक्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले गाउँ/गाउँमा विशेष अभियान थाल्ने भएको छ ।

लामो दूरीसम्म विद्युतीकरण भएका विभिन्न गाविसका ग्राहकको पहिचान गरी विद्युत् चोरी गर्ने, हुकिङ गर्ने व्यक्तिलाई कारबाहीका लागि अभियान थाल्ने भएको हो । ट्रान्सफर्मर अभावका कारण इलाममा सवमिटर राख्ने तथा अन्य प्रविधिबाट पनि विद्युत् चुहावट हुन थालेपछि प्राधिकरणले चुहावट तथा चोरीमा संलग्न भएको पाएमा कारबाही गर्ने प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलले बताउनुभयो ।

प्राधिकरणले दिएको जानकारीअनुसार इलाममा आव ०७१/७२ मा २४.३५ प्रतिशत विद्युत् चुहावट भएको छ । विद्युत् चुहावट हुने क्रम बर्सेनि बढ्न थालेपछि यस्ता नकारात्मक क्रियाकलापमा संलग्नलाई खोजी गरी कारबाही गरिने उहाँको भनाइ छ ।

यस्तै इलाम, पाँचथर र ताप्लेजुङमा विद्युतीकरणका कार्यक्रमका लागि चालु आव ०७२/७३ का लागि रु तीन करोड १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया