नेपाली जातिको विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरणका लागि मेरो उम्मेदवारी : एनआरएन उपाध्यक्ष प्रत्यासी कुमार पन्त

इनेप्लिज २०७२ असोज ६ गते १:११ मा प्रकाशित

Kumar Pantजर्मनी, ६ असोज । गैर आवासिय नेपाली अभियानका अगुवा अभियन्ता एवं एनआरएनएका महासचिव कुमार पन्तले नेपाली जातिको विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरणको मुद्धालाई आफ्नो मूल एजेन्डा भएको उद्घोष गर्दै संघको आसन्न सातौं अन्तराष्ट्रिय अधिबेशनले चयन गर्ने उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक बिज्ञप्ति जारी गर्दै महासचिव पन्तले राजनीतिक प्रभावबाट मुक्त गैर आवासिय नेपाली अभियानलाई नेपाली जातिको विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरणको मुद्धामा केन्द्रित गर्ने उपयुक्त समय भएको बताउदै संघको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैर आवासिय नेपाली अभियान अन्तर्गत नेपाली जातिको समृद्धिको लागि सामुहिक लगानीको आयोजना सुरु गरेर सफलता समेत हाँसिल गर्न सफल एनआरएनएका महासचिव कुमार पन्त गैर आवासिय नेपाली माझ संघको नेतृत्व हाँक्न सक्ने अगुवा अभियन्ताका रुपमा समेत परिचित छन् । संघको महासचिव पदमा निर्वाचित भए लगत्तै संघको विश्वब्यापी संगठन बिस्तार र संघका कतिपय राष्ट्रिय समन्वय परिषदहरुमा देखिएका विवादहरुलाई कुशलतापूर्वक सल्टाउन उनले निर्बाह गरेको भूमिकाले पन्त गैर आवासिय नेपाली माझ संघको विवाद रहित नेताका रुपमा परिचित भएका हुन् । मातृभूमि प्रलयकारी भूकम्पले तहस नहस भएको र आफ्नै घर र गाउँ त्यो पिडामा पर्दा पनि अति प्रभावित क्षेत्रमा संघको उद्धार र राहत कार्यको नेतृत्व गरेर गैर आवासिय नेपाली अभियानका अगुवा अभियन्ताका रुपमा आफुलाई स्थापित गर्न सफल महसचिब पन्तले आफ्नो उम्मेदबारीसंगै मातृभूमि पुनर्निर्माणमा संघको भूमिका र साझेदारीलाई आफ्नो प्राथमिकता ठानेर मातृभूमि पुनर्निर्माणको अभियान समेत सुरु गरेका छन् । संघको सबै राष्ट्रिय समन्वय परिषद र प्रतिनिधि पर्यवेक्षकहरुलाई संघको मातृभूमि पुनर्निर्माणको अभियानमा साझेदारी जनाउन समेत आग्रह गरेका छन् । उनले युरोप, अमेरिका र अष्ट्रेलियामा हुर्कदै गरेको नेपाली मूलको दोस्रो पुस्ता एनआरएन अभियानमा सहभागी हुन नसकेको स्वीकार्दै संघको आसन्न सातौं अन्तराष्ट्रिय अधिबेशनले उनीहरुका हितमा सांस्कृतिक, आर्थिक, सामाजिक र मुलधारको सामाजिकीकरणमा टेवा पुग्ने नीतिहरु अनुमोदन गर्न आफुले नेतृत्वदायी भूमिका निर्बाह गर्ने बताएका छन् । पन्तले आफ्नो उम्मेदबारी घोषणा लगतै भने, ‘ मातृभूमिको बैदेशिक रोजगारको विप्रेषणमा आधारित अर्थतन्त्र रहेको जग जाहेर छ, तर दुख साथ् भन्नु पर्छ हरेक दिन खाडीका राष्ट्रबाट एउटा नौजवान नेपाली छोरोको लास स्वदेश फर्किन्छ ।’ आफुले आफ्नो उम्मेदबारीलाई बिजय पराजय भन्दा पनि ति नौजवान नेपाली छोराको सुरक्षित बैदेशिक रोजगारको हक र अधिकार प्रत्याभूत गराउन संघको आसन्न सातौं अन्तराष्ट्रिय अधिबेशन मार्फत परिणाम मुखी योजना तय गर्न सम्पूर्ण अगुवा गैर आवासिय नेपाली र सहभागी हुने प्रतिनिधिहरुलाई आग्रह गर्दै  संघको पहलमा नेपाल सरकारसंग समन्वय गरी सुरक्षित बैदेशिक रोजगारको ग्यारेन्टी गराउने तर्फ आफुले नेतृत्वदायी पहल गर्ने बताएका छन् । उनले मातृभूमिले नयाँ संबिधान जारी गरेकोमा खुसि व्यक्त गर्दै संघले उठाएको नेपाली नागरिकता निरन्तरताको मुद्धा सम्बोधन भएकोमा संबिधान निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दै गैर आवासिय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता सहज रुपमा उपलब्ध गराउने मैत्रीपूर्ण कानुन निर्माण गर्न समेत राजनीतिक नेतृत्वलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया