प्रधानमन्त्री कोइराला र तमलोपाका अध्यक्ष ठाकुरबीच छलफल

इनेप्लिज २०७२ असोज ५ गते ७:४१ मा प्रकाशित

sushil.-mahanta-300x162काठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ ।

बिजुली बजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।

जवाफमा अध्यक्ष ठाकुर र उक्त पार्टीका अन्य नेताहरुले सरकार र प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर वार्तामा बस्न आफूहरुलाई अप्ठेरो भएको बताउनुभएको थियो ।

छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यका अनुसार मधेसवादी दलहरुले उठाएका अधिकांश माग संविधानमा सम्बोधन भएको तथा सम्बोधन हुन केही त्यस्ता बुँदाहरु बाँकी रहेका भए वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने तथ्य प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो ।

सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिथोलेको बताउनुभएको थियो ।

आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा बस्न आफूहरुलाई अप्ठेरो पर्न जाने उहाँको भनाइ थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको उहाँले जानकारी दिनुभयो ।

तमलोपाका नेताहरुले प्रधानमन्त्रीलाई आन्दोलनबाट तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया