चन्दा उठाएर सडक निर्माण

इनेप्लिज २०७२ असोज ५ गते ३:४२ मा प्रकाशित

खोटाङ, ५ असोज । जिल्लाको पश्चिमी गाविस धितुङका स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । हलेसी–धितुङ–रेग्मीटार सडकखण्डमा पर्ने धितुङ–३ का २१ घर चन्दा उठाएर सडक निर्माण गरिएका हुन् ।

चन्दा सङ्कलनबाट धितुङ–३ स्थित देउरालीडाँडादेखि दलितबस्ती हुँदै बुलापन्थे उच्च मावि जोड्ने डेढ किलोमिटर लामो सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताउनुभयो । “सडक अभावमा आवतजावतका साथै दैनिक उपभोग्य सामान ल्याउन समस्या थियो”, उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक घरपरिवारबाट चन्दा सङ्कलन गरेर सडक निर्माण गरेका हौँ ।”

सडक निर्माणका लागि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका आफन्तले समेत सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । स्काभेटरको प्रयोग गरी उक्त सडक रु एक लाख ८० हजार निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।
सो सडक निर्माणपछि गाविस र स्वास्थ्यचौकीसम्म आवतजावत गर्न सहज भएको स्थानीयवासी ज्ञानदीप कार्कीले बताउनुभयो । सडक अभावमा यसअघि बिरामीलाई स्वास्थ्यचौकीसम्म पु¥याउन पनि कठिनाइ थियो ।

प्रतिक्रिया