रामपुर नगरपालिकाका एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

इनेप्लिज २०७२ असोज ५ गते ३:३२ मा प्रकाशित

cartoon-toilet-1रामपुर (पाल्पा), ५ असोज । जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर नगरपालिकाभित्रका एक हजारभन्दा बढी घर शौचालयविहीन छन् । जिल्ला विकास समिति पाल्पाले सन् २०१५ भित्र जिल्लालाई खुला दिसामुक्त बनाउने योजना लिए पनि रामपुर नगरपालिकाभित्र ठूलो सङ्ख्यामा शौचालय नबनेको घरधुरी पाइएको छ ।

रामपुर नगरपालिका घोषणाको बखत आठ हजार १३२ घरधुरी सङ्ख्या थियो भने हाल त्यो सङ्ख्या बढेर अहिले नौ हजारको हाराहारीमा पुगेको छ । रामपुर नगरमा शौचालय बनाउने अभियान सुरु भए पनि अहिलेसम्म एउटा पनि वडा खुला दिसामुक्त बन्न सकेको छैन । साविकका गाविस र नगरपालिकाले शौचालय निर्माणमा जोड दिन रकम विनियोजन गरे पनि कतिपय स्थानमा रकम पनि खर्च हुन नसकेको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम तिमिल्सिनाले बताउनुभयो ।

वडा नागरिक मञ्चको निगरानी, सामाजिक परिचालकको अभियान र केही वडामा रामपुर खानेपानीको ओबिए कार्यक्रमबाट शौचालय बनाउने घरधुरी बढिरहेका छन् ।

जिविसका कार्यक्रम अधिकृत विनोद नेपालले बर्सेनि साविकका गाविस र नगरपालिका बनेपछि पनि शौचालय निर्माणका लागि रकम छुट्याए पनि अहिलेसम्म झन्डै साविककै एउटा गाविसकै अनुपातमा नगरपालिकाका घरधुरीमा शौचालय नभएको बताउँदै अब साविकका गाविस र प्रत्येक वडामा अभियानकै रुपमा काम गर्ने बताउनुभयो ।

आव२०७१/७२ मा रामपुर नगरपालिकाले परिषद्बाट पारित गरी खुला दिसामुक्त घोषणाका लागि सहयोगी कार्यक्रम र लक्षित वर्गको पूर्वाधार विकासबाट ठुलो रकम शौचालय निर्माणमा लगाएको छ । नगरपालिकाको नियमित निगरानी हुन नसक्दा केही कार्यक्रमबाहेक अरू प्रगति हुन सकेको छैन ।

प्रतिक्रिया