एनआरएनको उपाध्यक्ष पदमा कुमार पन्तको उम्मेदवारी

इनेप्लिज २०७२ असोज ४ गते २२:१२ मा प्रकाशित

unnamedकाठमाण्डौ। गैरआवासीय नेपाली संघको सातौं बिश्वसम्मेलन नजिकिदै छ, जसको कारण अन्तराष्ट्रिय समन्वय परिषद्का महत्वपूर्ण पदहरुमा उम्मेदवारी दिने क्रम बढेको छ। विश्वसम्मेलनमा गैरआवासीय नेपाली सँघका महासचिब कुमार पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। महासचिब पन्तले सोमबार एक बक्तब्य जारी गर्दे महासचिवको रुपमा निर्वाह गरेको जिम्मेवारीले मलाई थप अनुभवि र जिम्मेवारी बोध गराएको छ। जसले गर्दा संगठनको आगामी अधिबेशनबाट उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम छु भन्ने ठानी उपाध्यक्ष पदको उम्मेद्वार बनेको छु भन्नुभयो ।

कुमार पन्तले जारी गर्नु भएको बक्तब्य
आदरणीय मित्रहरु,
सादर नमस्कार
‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित १२ वर्षअघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ७० देशमा आफ्नो संस्थागत उपस्थिति देखाइरहँदा विश्वभरका नेपालीहरुको साझा संस्थाको रुपमा एउटा उचाइ र हैसियत हासिल गर्न सफल भएको छ। यो हामी सबैका लागि गौरवको विषय हो।
उच्च शिक्षा, व्यावसायिक सम्भावना र रोजगारीको खोजीमा हामी प्रवासिन पुगी विश्वभर छरिएर रहेका छौँ। जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नै भइरहनेछ। त्यसैले जन्मथलोप्रतिको आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास थालिएको छ। विभिन्न क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ। यसले हाम्रो संगठित अभियानको महत्व र गरिमालाई पनि स्थापित गरेको छ। केहि महिना अघि गएको विनाशकारी भूकम्पपछिको पीडामा मलम लगाउने क्रममा हाम्रो सक्रियता र पहलकदमीले विदेशमा रहेका नेपालीहरु साँच्चै स्वदेशको दुःखमा साथी बन्न सक्छन् भन्ने छाप छोडेको छ।
परिणामतः नेपाल सरकार र नेपाली समाजले सम्पूर्ण गैरआवासीय नेपालीलाई उच्च सम्मान गर्दै देशको मुहार फेर्ने समूहको रुपमा विश्वास गर्न थालेको छ। अर्थात्, राष्ट्रको विकास र समुन्नतिको एक भरपर्दो साझेदारको रूपमा संघलाई लिने दृष्टिकोणको विकास भएको छ। संसारका विभिन्न देशमा बसोवास गरिरहेका करिब ५० लाख नेपालीको एकता र उनीहरुले देखाएको समर्पणबाट नै यो सम्भव भएको हो भन्ने कुरामा दुई मत छैन।
संगठनलाई नेतृत्वको हिसाबले हामी गैरआवासीय नेपालीहरू क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा प्रवेश गर्दैछौँ। कडा मिहिनेतले नै हो पहिलो पुस्ताका अग्रज एनआरएनहरुले विश्वभर आआफ्नो क्षेत्रमा गर्विलो इतिहास बनाई सक्नु भएको छ। एक्ला एक्लै प्रयत्नले पहिलो पुस्ता यत्तिको सफल भयो। विश्वभर सफल हुने नेपालीको संख्या बढ्दै छ। हाम्रो संगठित प्रयासले यो दरलाई अझ तीब्रतर बनाउँदै छ। यो सफलताको सकारात्मक पक्षको उपयोग राष्ट्रिय हितमा लगाउनु पर्छ भन्ने लगभग समस्त एनआरएनलाई बोध भएको छ। मातृभूमिप्रतिको लगावलाई थप प्रगाढ बनाएर मुलुकको रूपान्तरणमा अझ सक्रिय र संगठित हुनैपर्छ भन्ने धेरैले मनन गरेका छौँ। यसलाई एउटा संस्कृतिको रूपमा स्थापित गर्ने दायित्व अब हामी माथि आएको छ। एक युवा व्यवसायीको हैसियतले देखेको र अनुभव गरेको आधारमा भन्नुपर्दा ज्ञान, सीप अनि पुँजीयुक्त, सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको समुन्नति सम्भव छ। यत्ति हो, नेपाल सरकारको गति र उसको नीति अनुकूल हुनुपर्ला। सफलतातर्फ लम्किएका सम्पूर्ण गैरआवासीय नेपालीलाई अलिकति पनि विचलित नहुने अवस्था सिर्जना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउनुपर्ला। त्यसका लागि फरक फरक क्षेत्रमा आफ्नो पहिचान बनाएका, प्रतिभा देखाएका र योग्यता प्रमाणित गरेका युवाले अग्रसरता लिनुपर्छ।

आदरणीय मित्रहरु,
यसो भनिरहँदा आफैले पनि के कति योगदान गर्न सकियो भन्ने सवाल जोडिन पुग्छ। आफ्नै हकमा भन्नुपर्दा, स्थापनाकालदेखि नै म एनआरएनएका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छु। संस्थाले सुम्पेका हरेक जिम्मेवारीमा कुनै संकोच नमानी निर्वाह गरेको छु। स्थानीयदेखि केन्द्रीय तहसम्म, व्यक्तिगतदेखि सामूहिक प्रयाससम्ममा अविचलित रुपमा खटेको छु। विद्यालय, पुस्तकालय, बाटोघाटो, पुल, सरसफाइ, खानेपानी, स्वास्थ्य सेवा जस्ता क्षेत्रमा गरिएका परोपकारी प्रयास होऊन् वा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका माध्यमबाट समुन्नत राष्ट्र निर्माणको अभियानमा यथोचित सहभागिता जनाएको छु ।
यिनै मूल्य, मान्यता र दायित्वबोधका साथ पछिल्लो दुई वर्ष संघको महासचिव जस्तो जिम्मेवार पदमा रहेर भूमिका निर्वाह गर्ने मौका पाएँ।आज आफूलाई थप जिम्मेवार र अनुभवी एनआरएनको रुपमा पाएको छु। अग्रजहरूको व्यक्तित्व, समर्पणभाव, मैत्रीभाव र कार्यक्षमताबाट प्राप्त सिकाई हो भन्नुमा मलाई गौरवबोध हुन्छ। अझै भन्छु, तपाईँ जस्ता कर्मठ एनआरएनले सधैँ देखाउनु भएको सद्भाव र सहकार्यले नै सम्भव भएको हो। त्यसैले दुई वर्षमा मैले जे जति कार्य गर्न सफल भएँ, यसको सम्पूर्ण जस तपाईँहरुलाई नै जान्छ। कतिपय कमी कमजोरी पनि भएका हुन सक्छन्। गर्नैपर्ने कतिपय काम हुन सकेनन्। त्यसको दोष म अरुलाई दिन चाहन्न, सम्पूर्ण रुपमा म आफैँ लिन्छु। जति गर्न सकें, त्यसमा मेरो संघप्रतिको प्रतिबद्धता, इमान्दारिता र मातृभूमिप्रतिको दायित्वबोधको पूरापूर हिस्सा छ भन्ने चाहिँ तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु।
केन्द्रीय स्तरमा बसेर विश्वभरका मित्रहरुको बीचमा गरिरहँदा उत्साह त थपिएकै थियो भनें केही डर पनि पक्कै थियो। तपाईहरुहरुबाट प्राप्त विश्वासलाई सम्मान गर्दै छोटो अवधिमा कसरी यहाँहरुका अपेक्षा र मेरा प्रतिबद्धता साकार पार्ने होला भन्ने मेरो मूल चिन्ता थियो। तर, ती सबै कुरा सहज रुपमा सम्पन्न गर्न सकियो र तपाईँहरुकै सहयोग र खबरदारी मेरो सफलताको कारण बन्यो। महासचिव जस्तो जिम्मेवार पदमा मलाई विश्वास गरेर आफूलाई परिपक्व बनाउन तपाईँहरुले जुन भूमिका खेल्नुभयो, त्यसलाई मैले कम आँक्न सक्दिनँ। भोलिका दिनमा मैले यसैलाई निरन्तरता दिने वा के गर्ने भन्ने बारेमा पनि पहिलो सुझाव तपार्इँबाटै लिन चाहेँ।

महासचिवको रुपमा निर्वाह गरेको जिम्मेवारीले मलाई थप अनुभवि र जिम्मेवारी बोध गराएको छ। जसले गर्दा संगठनको आगामी अधिबेशनबाट उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम छु भन्ने ठानी उपाध्यक्ष पदको उम्मेद्वार बनेको छु। पहिला जस्तै यस पटक पनि मेरो उम्मेद्वारीको लागि यहाँको सल्लाह र सुझाव नै पहिलो आधार बन्ने छ।
यहाँको उचित सुझाव र सल्लाहको अपेक्षा सहित,
धन्यवाद ।

कुमार पन्त

महासचिव
गैरआवासीय नेपाली संघ

२१ सेप्टेम्बर २०१५

प्रतिक्रिया