संविधानको स्वागतमा सरसफाइ

इनेप्लिज २०७२ असोज ३ गते ४:०० मा प्रकाशित

काठमाडौँ, ३ असोज । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुन लागेको खुसियालीमा सहर तथा गाउँ, बस्ती सरसफाइ गरिएको छ ।

आफ्ना जनप्रतिनिधिद्वारा संविधान जारी हुन लागेको खुसियालीमा गाउँ, बस्ती, टोल, वडाका स्थानीयवासी आज बिहानै घर, चोक, आँगन सरसफाइमा जुटेका छन् । राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी आज बिहानै हातमा कुचो, साबेल, बोरा लिएर सडकपेटीको सरसफाइमा जुटेका हुन् ।

उ आज बिहानको सरसफाइपछि साँझ आयोजना हुने दीपावलीलाई सफल तुल्याउन उनीहरु उत्साहपूर्वक सरसफाइमा जुटेका हुन् । सरकार र प्रमुख राजनीतिक दलले आज र भोलि दीपावलीलगायत विजय जुलुस मनाउन आह्वान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ ।

यसैबीच काठमाडौँको तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आफ्ना क्षेत्रभित्र सरसफाइ गरी साँझ दीपावलीका लागि तयारी गरिसकेको छ ।

धुन्चे(रसुवा)–नयाँ संविधानको स्वागत गर्दै रसुवा उद्योग वािणज्य सङ्घको अगुवाइमा धुन्चे बजारमा आज बिहान सरसफाइ सम्पन्न भएको छ ।
सरसफाइबाट करिब पाँच मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो । कार्यक्रममा नागरिक समाज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय आमा समूहका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उद्योगी, व्यापारी लगायत सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया