शय्या विस्तार

इनेप्लिज २०७२ असोज ३ गते ३:५९ मा प्रकाशित

भक्तपुर, ३ असोज । भक्तपुरमा सञ्चालित एक मात्र महिला तथा बाल अस्पतालका रुपमा रहेको सिद्धिस्मृति बाल अस्पताल अब १०० श्ययामा विस्तार हुने भएको छ ।

अस्पताल एवम् सिद्धि शालिग्राम वृद्धाश्रम सञ्चालन गर्दै आएको सामाजिक संस्था सिद्धि स्मृति प्रतिष्ठानको शनिबार आयोजित तेह्राँै साधारणसभामा प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले ५० श्ययामा रहेको अस्पताललाई १०० श्यया र वृद्धाश्रमलाई ६० जनाको क्षमतामा वृद्धि गर्न लागिएको बताउनुभयो ।

बिरामी र वृद्धवृद्धाको चाप बढेपछि क्षमता बढाउन लागिएको हो । गत आवमा अस्पतालबाट दन्त रोग, बालरोग, स्त्री रोग, प्रयोगशाला, एक्स–रे, आकस्मिक कक्ष, अल्ट्रासाउन्ड, प्रसूति, खोप, परिवार नियोजन र शल्यक्रियालगायत विभिन्न सेवामा कुल ३८ हजार ३०० जनाले सेवा लिएका छन् । न्यून सेवा शुल्कमा गुणस्तरीय सेवा दिँदै आएको अस्पतालको कुल खर्चमा ६० प्रतिशत खर्च धाने पनि ४० प्रतिशत रकम भने विभिन्न देशका दातृ निकायबाट सङ्कलन गरिएको छ ।

प्रतिष्ठानले ४० जनालाई चिकित्सा र नर्सिङ विषयमा उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानका सदस्यसचिव हरिराम लवजूले प्रतिष्ठानले अस्पतालको बहिरङ्ग सेवा सञ्चालनका लागि छुट्टै भवन निर्माण गरेको, चिकित्सा उपकरण थप गरेको, नयाँ जनशक्तिको विकास गरेको र गरिब बिरामीलाई पूर्ण रुपमा निःशुल्क सेवा दिन कोषको स्थापना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका कोषाध्यक्ष दुर्गाभक्त राइठोरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव ०७१/७२ मा वृद्धाश्रम सञ्चालनबाट रु ३४ लाख १९ हजार सङ्कलन भएको र रु ५० लाख ७७ हजार ७४७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

प्रजिअ तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी लगायतले प्रतिष्ठानले सञ्चालन गरेको सेवाले यहाँका नागरिकलाई निकै राहत पुगेको बताउनुभयो ।

प्रतिक्रिया