भत्किएका घर छाडेनन् भूकम्पपीडितले

इनेप्लिज २०७२ असोज १ गते ४:३२ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), १ असोज । चितवनका अधिकांश भूकम्पपीडितले चर्किएका र भत्किएका घर छाडेका छैनन् ।

कतिपयले भत्किएको र चर्किएकालाई टालटुल गरे भने कतिपयले चर्किएको भित्ता नै नभत्काई सामान्य मर्मत गरेर बसेका छन् । पानी आउँदा, गड्याङ हुँदा घर भत्किन्छ कि भनेर डर लाग्ने भए पनि त्यही घरमा बसिरहेको चितवनको विकट कविलास चौकीडाँडाकी आशमायाँ गुरुङले बताउनुभयो ।

उहाँको घरको मूल थाम पूरै हल्लिन्छ । थामले बिम छाडेको छ । पुतली गाह्रो पनि लड्नै लागे झँै देखिन्छ । एकापट्टि छेउको गाह्रो पूरै भत्किएको छ । घरका विभिन्न भित्ता चर्किएको छ । तर उहाँको परिवारले घर छाडेका छैनन् । त्यही क्षतिग्रस्त घरमा परिवार बस्दै आएको छ । “के गर्ने हामीलाई पूर्ण क्षति बनाउनुपर्ने आंशिक बनायो, तीन हजार पैसाले के गर्ने”, आशमायाँले भन्नुभयो ।

कविलासकै चन्द्रबहादुर गुरुङको घर पूर्ण क्षतिमा परेको छ । गाउँ पुग्दा घर टालटुल गर्दै गर्दा उहाँसँग भेट भयो । अहिलेसम्म सरकारी राहत रु १५ हजार नपाएको बताउने चन्द्रबहादुरले करिब २० हजार जति घरमा खर्च गरिसक्नुभएको छ । चर्किएको स्थानलाई नभत्काई उहाँले घर टालटुल गरिरहनुभएको छ । पैसा छैन त्यही भएर कम खर्चमा बनाउन लागेको चन्द्रबहादुरले बताउनुभयो ।

यो एउटा उदाहरण भए पनि धेरैका घर यस्तै छन् । भूकम्पपीडित भत्किएकै घरमा बसिरहेको कविलासका स्थानीयवासी बताउँछन् । स्थानीयवासी पटबहादुर गुरुङ धेरैजसो भत्किएकै घरमा बस्ने गरेको प्रतिक्रिया दिनुभयो । कविलास गाविसमा एक सय ३५ घर पूर्ण क्षति र तीन सय ९० घर आंशिक क्षति भएको तथ्याङ्क छ । जिल्लामा कुल १५ हजारभन्दा बढी घर क्षति भएको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिसँग छ । भूकम्पपीडित भन्दै निवेदन दिने क्रम भने अझै रोकिएको छैन ।

प्रतिक्रिया