बुटवल उपमहानगरपालिकामा नयाँ मापदण्डअनुसार नयाँ नक्सापास खुला

इनेप्लिज २०७२ असोज १ गते २:०१ मा प्रकाशित

तिलोत्तमा (रुपन्देही), १ असोज । बुटवल उपमहानगरपालिकामा गत वैशाख १२ मा गएको भूकम्पपछि रोकेको नयाँ नक्सापास आगामी असोज ५ गतेदेखि खुला हुने भएको छ ।

सरकारले भूकम्पपछि नयाँ घर निर्माण गर्न लगाएको बन्देज साउन ३१ गतेदेखि रोकेको थियो । मन्त्रालयले पठाएको परिपत्रसहित ५१ बुँदे भवन निर्माण आचारसंहितामा केही थपेर नक्सापास बिहीबार नगरपरिषद्बाट पारित भएको हो । नयाँ मापदण्डअनुसार असोज ५ गतेबाट नयाँ नक्सापासको प्रक्रिया खुल्ला गर्ने निर्णय परिषद्ले गरेको नगरपालिका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले बताउनुभयो ।

स्थानीय विकास मन्त्रालयले साउन ३१ गते ५१ बुँदे भवन निर्माण आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहितामा बुटवलको भौगोलिक अवस्थालाई ध्यानमा राखी केही थप गरिएको छ ।

बुटवलको भूगोल तथा अन्य अवस्थालाई ध्यानमा राखेर अस्पताल, विद्यालय, सरकारी कार्यालय आदि कुन स्थानमा निर्माण गर्ने परिषद्ले निर्णय गरेपछि नक्सा खुलाउने नगरपालिकाले तयारी गरेको हो ।
निर्माणाधीन घरका लागि यस अगाडि असारदेखि नै फुकुवा गरिएको थियो । सरकारले स्थानीय विकास मन्त्रालयमार्फत बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गसहित भवनसंहिता २०७२ ल्याएको हो ।
भवनसंहिता कार्यान्वयन नहुँदा भूकम्पबाट धेरै घरमा क्षति पुगेपछि मन्त्रालयले नयाँ निर्देशिका निर्माण गरी सबै नगरपालिकालाई कार्यान्वयनका लागि परिपत्र गरेको छ । परिषद्बाट पारित आचारसंहित पूर्ण रुपमा कार्यान्वयन हुने उपमहानगरपालिकाले अपेक्षा गरेको छ । उपमहानगरपालिका भूकम्प सुरक्षा शाखा जुनियर इन्जिनियर सोमनाथ अधिकारले ५१ बुँदामध्ये २७ वटा बुँदा अनिवार्य पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नयाँ मापदण्डमा सडकको न्यूनतम चौडाइ ६ मिटर हुनुपर्ने, घरको वरपर ३० देखि ४० प्रतिशत जमिन खुल्ला हुनुपर्ने, सरकारी, अर्धसरकारी वा सार्वजनिक प्रयोजनका लागि बनाइने भवन वरपर भने ५० प्रतिशत जमिन खाली हुनुपर्ने छ । यस्तै सार्वजनिक ऐलानी जग्गालाई खुला क्षेत्र घोषणा गरी हरियाली पार्कका रुपमा रुपान्तरण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को निर्णयबिना सार्वजनिक जमिन कसैलाई भाडामा वा कुनै पनि सर्तमा उपयोगका लागि दिन पाइने छैन ।

प्रतिक्रिया