घटाएको एक हप्तासम्म पनि लागू भएन समायोजित भाडादर

इनेप्लिज २०७२ भदौ ३१ गते १४:११ मा प्रकाशित

YATAYAT_897418675_863373930काठमाडौँ, ३१ भदौ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा लागू गरेको समायोजित भाडादर एक हप्ता बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

पेट्रोलियम पदार्थको भाउ बढ्ने बित्तिकै सवारीसाधनको भाडा बढाउने यातायात व्यवसायीले भाडा घटेको एक हप्ता भइसक्दासमेत घटाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा भदौ २३ गते विभागले सरोकारवाला यातायात व्यवसायी, उपभोक्तावादी र ट्राफिक प्रहरीसमेतको उपस्थितिमा २.२२ देखि ३ प्रतिशतसम्म भाडा घटाएको थियो ।

भदौ २५ गते शुक्रबारदेखि लागू हुने भनिएको सो भाडादर एक हप्ता पूरा हुँदासमेत लागू नभएको उपभोक्तावादी रोशन पोखरेलले बताउनुभयो । “भाडा बढ्दा समाचार सार्वजनिक हुने बित्तिकै बढाउने यातायात व्यवसायीले विभागले सरोकारवालालाई समेत राखेर गरेको निर्णय एक हप्तासम्म कार्यान्वयन गरेका छैनन्, विभागले अनुगमन गरेजस्तो गरे पनि कार्यान्वयनमा ध्यान दिएको छैन”–उहाँले भन्नुभयो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ निर्णय कार्यान्वयन नगर्नेलाई कारबाहीको दायरामा ल्याइएको बताउनुहुन्छ । “रु एक बढी भाडा लिनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा भएको रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गर्न पाउने प्रावधानअनुसार अधिकतम रु पाँच हजार नै जरिवाना गरिएको छ” –उहाँले भन्नुभयो ।

बढी भाडा लिने सवारीसाधनका विषयमा उजुरी गर्न ट्राफिक प्रहरीको फोन नं १०३ छुट्याइएको महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । “अहिलेसम्म फोनमा १८५ उजुरी आएका छन्, बढी उजुरी विद्यार्थीबाट आएका छन्, न्यूनतम रु १३ भाडामा विद्यार्थी सहुलियत गरी रु सात लिनुपर्नेमा रु १० लिएर सवारीसाधनका सहयोगीले ठगी गरेको उजुरी आएका छन्”– उहाँले भन्नुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधानअनुसार ट्राफिक प्रहरीले चिट काटी बढी भाडा लिने सवारीसाधनको विवरण विभागमा बुझाउने गरेको पनि उहाँले जानकारी दिनुभयो । भाडाका ट्याक्सीले पनि मिटरमा जान नमानी बढी माग्ने गरेकाले त्यस्ता ट्याक्सीलाई सिधै विभागमा बुझाउने गरेको महाशाखाले जनाएको छ ।

सिनामङ्गलबाट सिंहदरबार मध्य उपत्यका यातायातको बा१ख ९८२८ नम्बरको मिनी बसमा आएकी सकुन्तला राजवंशी विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत नदिई रु १५ भाडा लिएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो – “चार किमीभन्दा कमको यो दूरीमा विभागले तोकेअनुसार विद्यार्थीको परिचयपत्र हेरेपछि ४५ प्रतिशत सहुलियत दिई रु सात भाडा लिनुपर्नेमा दोब्बर लिएको छ । फोन नम्बर १०३ मा पनि उजुरी गरेकी छु । कारबाही के हुन्छ, हेर्न बाँकी छ ।”

यसअघि २०७१ साल पुस ९ र माघ २६ गते समायोजन गरेको भाडादर पनि लागू नभई भदौ २३ गते विभागले नयाँ भाडादर लागू गरेको थियो । यो भाडादर पनि लागू नहुने देखिएको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया