शान्ति सुरक्षाका लागि सहयोग गर्न अपिल

इनेप्लिज २०७२ भदौ ३१ गते ४:२९ मा प्रकाशित

धनगढी, ३१ भदौ । नयाँ संविधान जारी हुन लागेको परिप्रेक्ष्यमा शान्ति सुरक्षा मजबुत बनाई राख्ने कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लावासीलाई अपिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले बुधबार सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव, एकता र मेलमिलापमा खलल पुग्ने गरी कुनै पनि धारणा विचार वा दृष्टिकोण सार्वजनिक नगर्न आग्रह गर्नुभएको छ ।

कुनै पनि आन्दोलनका कार्यक्रमबाट कसैको हक, अधिकार, सम्पति ज्यान र प्रतिष्ठामा आघात पार्ने काम नगर्न आग्रह गर्दै उहाँले आफ्नो हकको प्रयोग गर्दा अरुको हकमा असर नपु¥याउन पनि अपिल गर्नुभएको छ ।

निषेधाज्ञा यथावत

यसैबीच पुरानै तालिकाअनुसार कैलालीको धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा आज दिउँसो १२ देखि ३ बजेसम्म यथावत रहेको छ ।

हरितालिकालाई मध्यनजर गरी बुधबार दिउँसो निषेधाज्ञा हटाएको स्थानीय प्रशासनले आज धनगढीमा पुरानै तालिकाअनुसार निषेधाज्ञा जारी गरेको हो ।

उता चौबीसै घन्टे निषेधाज्ञा लगाइएको टीकापुर नगर क्षेत्र र भजनी–त्रिशक्ति नगर क्षेत्र तथा आसपासका क्षेत्रमा आज बिहान ५ देखि १२ बजेसम्म सात घन्टाका लागि निषेधाज्ञा हटाएको छ ।

ती क्षेत्रमा अन्य समयमा लगाइएको निषेधाज्ञा र घोषणा गरिएको दङ्गाग्रस्त यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया