पुस्तकालयका कारण विद्यार्थीको पढाइ राम्रो हुँदै

इनेप्लिज २०७२ भदौ ३१ गते ४:२५ मा प्रकाशित

बेनी (म्याग्दी), ३१ भदौ । म्याग्दीका ग्रामीण सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भएपछि त्यहाँ अध्ययनरत बालबालिकाको पढाइ राम्रो बन्दै जान थालेको पाइएको छ ।

पुस्तकालयमा विद्यालय पाठ्यक्रमलगायत सामान्य ज्ञान, कला साहित्य, विज्ञान र मानवीय रुचिका पुस्तक पाइने भएकाले बालबालिकाको पढाइ राम्रो हुनुका साथै उनीहरु रमाउँदै विद्यालय जाने गरेको पाइएको हो ।

विद्यालय पुस्तकालयमा विद्यालय पाठ्यक्रम, सामान्य ज्ञान, विभित्र खालका अङ्ग्रेजी र नेपाली भाषाका शब्दकोष, पत्रपत्रिका तथा मानवीय रुचिका पुस्तक सहजै रूपमा पाइने भएकाले बालबालिकाले फुर्सदको समयमा पुस्तकालयको सदुपयोग गर्ने गरेको पुस्तकालय स्थापना गरेका सामुदायिक विद्यालयले जनाएका छन् ।

ती विद्यालयका अनुसार पुस्तकालयको स्थापना नभएका माध्यमिक विद्यालयका विद्यार्थी पुस्तकालय स्थापना भएका प्राथमिक विद्यालयको पुस्तकालयका सदस्य बनेर पुस्तक अध्ययन गरिरहेको समेत पाइएको छ ।

गाजा युवा क्लब बागलुङको व्यवस्थापन र रुम टु रिड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा हालसम्म जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना गरिदिएपछि ती विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्ने बानीमा सुधार आएको हो । जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा तीन वर्षे कार्यक्रमअन्तर्गत पुस्तकालय, फर्निचर र तालिमको व्यवस्था गरिनुका साथै अन्य १४ वटा सामुदायिक विद्यालयमा पुस्तकमात्र सहयोग गरिएको गाजा युवा क्लब बागलुङका विद्यालय पुस्तकालय संयोजक हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

भविष्यमा जिल्लाका सबै सामुदायिक विद्यालयमा यस्ता पुस्तकालय स्थापना गरिने लक्ष्य राखिएको छ गौतमले भन्नुभयो ।

आफ्नो विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यार्थी आफूहरूसँग नभएका पुस्तक पुस्तकालयमा आएर पढ्न थालेका बाल जागृति प्राविका प्रअ तथा म्याग्दी विद्यालय पुस्तकालय सञ्जालका संयोजक भक्त कार्कीले बताउनुभयो ।

सरस्वती प्राथमिक विद्यालय बगरफाँटका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले पुस्तकालय स्थापनापछि विद्यार्थीले उत्सुकताका साथ अध्ययन गर्न पाएको र पुस्तकालयलाई अझै विस्तार गर्न सकियो भने विद्यार्थी बढी प्रभावित हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर कार्कीले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पनि पुस्तकालय स्थापना हुनु सुखद अनुभूति भएको बताउनुभयो ।

पुस्तकालय भनेको ज्ञानको केन्द्र भएको हुनाले सम्पूर्ण विद्यालयका विद्यार्थीले पुस्तकालयको उपयोग गर्न पाउनुपर्छ भत्रे मान्यताअनुरूप गाजा युवा क्लबले रुम टु रिडको सहयोगमा विद्यालयमा पुस्तकालयको विकास गर्ने सोच बनाएको क्लबका वरिष्ठ पुस्तकालय सहजकर्ता छन्त्याल बताउनुहुन्छ ।

क्लबले विद्यालयमा पुस्तकालय स्थापनासँगै पठन संस्कृतिको विकास गराउन विभिन्न रचनात्मक कार्यक्रम पनि गर्ने गरेको छ । पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमका अनुसार पठन क्रियाकलापअन्तर्गत सस्वरवाचन पढाइ, स्वतन्त्र पढाइ, सामूहिक पढाइ र अभिनयात्मक पढाइमा विद्यार्थीलाई सहभागी गराइँदै आएको छ ।

प्रतिक्रिया