दुई महिनामै ११ लाखको सामान बरामद

इनेप्लिज २०७२ भदौ ३१ गते ४:२४ मा प्रकाशित

इलाम, ३१ भदौ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले दुई महिनामै करिब रु ११ लाख बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ ।

प्रहरीले गएको साउनमा रु पाँच लाख सात हजार दुई सय र भदौमा रु छ लाख चार हजार मूल्य बराबरका सामग्री बरामद गरी भन्सारमा बुझाएको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

पूर्वी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेका फलफूल, लत्ताकपडा, खाद्यान्न तथा नेपालबाट भारत लैजाँदै गरेका चौपाया नियन्त्रणमा लिई पशुपतिनगर भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

पूर्वी क्षेत्रका मानेभञ्ज्याङ, फाटक, छब्बिसे, हिलेलगायतका दर्जनौँ नाकामा गस्ती गर्ने क्रममा अवैध तरिका (भन्सार नतिरी) ल्याउँदै गरिएका सामान प्रहरीले बरामद गरेको हो । प्रहरीले गएको साउनमा मात्रै एकैदिन रु एक लाख ३० हजार मूल्य बराबरका फलफूल बरामद गरेको छ ।

चाडपर्वको मौका छोपी तस्करहरूले अवैध तरिकाले सामान भित्र्याउने गरेका छन् । प्रहरीले लाखौँ रुपैयाँको सामान बरामद गरे पनि तस्कर भने अहिलेसम्म फेला पर्न नसकेको प्रहरी निरीक्षक थपलिया बताउनुहुन्छ ।

प्रतिक्रिया