वन्यजन्तुको संरक्षणका लागि सिकार गर्न प्रतिबन्ध

इनेप्लिज २०७२ भदौ ३१ गते ४:१३ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, ३१ भदौ । म्याग्दीको दग्नाम गाविस वडा नं ७, ८ र ९ दरमिजनामा वन्यजन्तु संरक्षणका लागि स्थानीय वनजङ्गलमा सिकार गर्न प्रतिबन्ध लगाइएको छ ।

सोमबार र मङ्गलबार गरी दुई दिन सञ्चालन भएको गाउँको उधौलीसभाले अव्यवस्थित सिकार गर्ने प्रचलनले वन्यजन्तु लोप हुने खतरा बढेको भन्दै स्थानीय गाउँ नजिकका वनमा सिकार गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको स्थानीय युवा कर्ण खत्रीले जानकारी दिनुभयो ।

सभाले दरमिजाको ठूलोचार, दोबिल्ला, कोटितेल, फुलट्याङ, दोबाटो, कन्जरीखोला, ठूलोभिर वन र राहुघाट खोलादेखि माथि रहेको जङ्गलमा वन्यजन्तुको सिकार गर्न नपाउने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा पाइने मृग, कालिजलगायतका वन्यजन्तुको स्थानीय र छिमेकी गाउँबाट समेत सिकार हुने गरेको थियो ।

वन्यजन्तुको संरक्षणसँगै सभाले वन व्यवस्थापनका लागि अर्को निर्णय नहुँदासम्म ती जङ्गलमा निगालोसमेत काट्न रोक लगाएको खत्रीले बताउनुभयो । ‘‘यहाँ चौमासिक रुपमा सभा बस्ने गरेको छ, यसले समसामायिक विषयमा बृहत् छलफल गरी रीतिस्थितिको अवस्थाको समीक्षासँगै विभिन्न वस्तुको दररेट निर्धारण गर्दै आएको छ – उहाँले भन्नुभयो ।’’

समितिका अध्यक्ष पदमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शिव प्राविमा कम्प्युटर कक्षा सञ्चालनका लागि चन्दादाताबाट करिब रु आठ लाख २० हजार सङ्कलन गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमन पाइजाले दिनुभयो ।

प्रतिक्रिया