सोलार आयोजना हस्तान्तरण, दुईसय २१ घरमा बिजुली

इनेप्लिज २०७२ भदौ २८ गते ४:३५ मा प्रकाशित

solarमुस्ताङ, २८ भदौ । माटो सहरको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङको लोमान्थाङमा चीन सरकारले निर्माण गरेको ७० किलोवाट क्षमताको सोलार प्यानल आयोजना नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ ।

एक वर्षअघि दुई पक्षबीच भएको सम्झौताअनुसार, चीन सरकारको करिब रु पाँच करोडको लागतमा निर्मित आयोजना लोमान्थाङमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो ।

हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा नेपाली पक्षबाट मुस्ताङका स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशी र चिनियाँ पक्षबाट तिब्बत मामिलासम्बन्धी कार्यकारी अन्तर्राष्ट्रिय अधिकृत क्वासिङले हस्ताक्षर गरेका छन् ।

सोलार प्यानल जडान भएपछि लोमान्थाङका २२१ घरधुरीका एक हजार ४०० सर्वसाधारणले नियमित विद्युत् उपभोग गर्न पाएको स्थानीय विकास अधिकारी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, चिनियाँ टोलीले गाविसका सबै घरमा लाइन विस्तारदेखि वाइरिङसम्मका काम गरेका थिए ।

यसअघि स्थानीय र पर्यटकको समस्यालाई मध्यनजर गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय सर्वसाधारणसँग सहकार्य गरेर १५ वर्षअघि लोमान्थाङ खोलाबाट २९ किलोवाटको लघुजलविद्युत् आयोजना सञ्चालन गरेको थियो । त्यसैबाट लोमान्थाङवासीले बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गरिरहेका थिए ।

“अहिले सोलार प्यानल जडान गरेपछि जति बिजुली बालेपनि हुने भएको छ, चीन र नेपाल सरकारबीचको मैत्रीपूर्ण सम्बन्धका कारण यो सम्भव भएको हो” स्थानीय विकास अधिकारी जोशीले भन्नुभयो– “यसको मर्मत र सम्भारको जिम्मा पनि चिनियाँ पक्षले नै लिएका छन् ।”

खोला र सोलार सेट दुवैबाट उत्पादित बिजुलीलाई एउटै प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । नियमितरुपमा बिजुली उपभोग गर्न पाएपछि स्थानीय हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा दुवै देशका अधिकारीले आयोजनाको नियमित र दीर्घकालीन रुपमा प्रयोग गर्न सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया