ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी विहीन

इनेप्लिज २०७२ भदौ २८ गते ४:२८ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, २८ भदौ । सरकारको राजस्व उठ्ने ताप्लेजुङको ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ भएको छ भने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय गर्ने कार्य बढदै गएको छ ।

एक जना कार्यालय सहयागीले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा कार्यालयको भवनमा भेडाबाख्रा बाँधेको भेटिने गरेको स्थानीयको भनाइ छ । द्वन्द्वका बेला बन्द कार्यालय दुई वर्षअघि खुले पनि कर्मचारीको अभाव हुँदा राजस्व उठ्न सकेको छैन ।

ओलाङ्चुङगोला भन्सार कार्यालयका खरिदार नारायणप्रसाद सापकोटा डेढ वर्षअघि सरुवा भई आए पनि अहिलेसम्म कार्यालय पुगेका छैनन् । उनी अहिले ओलाङ्चुङगोला भन्सारकै नाममा ताप्लेजुङको कोष तथा लेखा नियन्त्रण कार्यालयबाट तलब बुभ्mने गर्दछन् ।

भन्सार बन्द नभए पनि कहिलेकाहीँ मात्र खुल्ने भएका कारण राज्यलाई वार्षिक लाखौँको राजस्व घाटा भएको छ । दैनिक लाखौँ मूल्यबराबरको आर्थिक कारोबार हुने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय फस्टाउदै गएको छ ।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा सम्पर्क कार्यालय राखेका भन्सार कर्मचारी काजमा बसेको डेढ वर्षसम्म कार्यालय नपुगे पनि प्रशासनबाट कुनै कारबाही नभएको स्थानीय बताउँछन् ।

आठ जनाको दरबन्दी रहेको कार्यालयमा कर्मचारी नहुनु र कार्यालय सहयोगीका भरमा सञ्चालन गरिँदा राजस्व उठ्न नसकेको हो । अहिलेका कार्यालय सहयोगी स्थानीय ओलाङ्चुङगोलाका भोमु शेर्पाले पनि अवकाश पाउन लागेका छन् ।

कार्यालयले गत आव ०७१÷७२ मा रु १५ हजार ७६० मात्र राजस्व उठाएको छ । त्यस्तै, आव ०७०÷७१ मा कार्यालयले रु ८४ हजार ९२ राजस्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

छिमेकी चीनको तिब्बतसँग सोझो सम्बन्ध रहेको नाका खुला नहुँदा दुर्लभ जडीबुटीको अवैध चोरी निकासीले तीव्रता पाएको छ । अवैध व्यापार व्यवसायका लागि नाका प्रयोग हुने क्रम पछिल्लो समय झनै बढेको छ । रक्तचन्दन तस्करले ओलाङ्चुङगोला नाकालाई नै प्रयोग गर्दै आएको स्थानीयको दाबी छ । अहिले चिराइतो पनि यही नाका हुँदै तिब्बत निकासा हुने गरेको छ ।

प्रतिक्रिया