महिलाको सक्रियतामा जुवातास नियन्त्रण

इनेप्लिज २०७२ भदौ २६ गते ४:०६ मा प्रकाशित

Taas-599x330कञ्चनपुर, २६ भदौ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ३ का महिलाले जुवातास नियन्त्रणमा सक्रियता देखाएका छन् ।

महिलाले जुवातास खेल्ने ठाउँमै गएर यसका बेफाइदाका बारेमा सचेत पार्ने कार्य गरेपछि जुवातास खेल्ने कार्य निरुत्साहित हुँदै आएको स्थानीयवासी सावित्री डगौराले बताउनुभयो ।

पसल र सडकको छेउछाउमा पहिला जुवातास खेल्नेहरु ठाउँठाउँमा देखिन्थे उहाँले भन्नुभयो – “समाजकै अगाडि जुवातास खेल्नेलाई पहिलो चरणमा सम्झाउने र अर्को चरणमा जरिवाना गर्न थालेपछि जुवातास खेल्ने कार्य पूर्ण रुपमा घटेको छ ।”

घरेलु हिंसा, चोरीलगायतका घटनामा निकै बढोत्तरी हुन थालेपछि सबैजनाले बैठक गरी जुवातास नियन्त्रण गर्ने अठोट ग¥यौँ भारती चौधरीले भन्नुभयो–“एक महिनाअघिदेखि सञ्चालन गरेको अभियान परिणाममुखी देखिएपछि यसलाई सबैले साथ दिन थालेका छन् ।”

जुवातास खेलेर समयलाई खेर फाल्ने युवाहरु हाल मजदुरीमा जान थालेपछि घरको आर्थिक अवस्थामा समेत सुधार आएको छ । चोरी र घरेलु हिंसाका घटना निकै घटेका छन् । जुवातास खेल्ने युवालाई नै जुवातासविरुद्धको सचेतना अभियानमा परिचालन गर्दै आएपछि जुवातास खेल्नेहरु हच्किने गरेका छन् ।

महिलाले जुवातास नियन्त्रण अभियान सञ्चालन गरेपछि पूरै गाउँ जुवातास मुक्त भएको छ ।

महिलाले गाउँ सरसफाइका लागिसमेत यस साथै अभियान सुरु गरेका छन् । घर घरमा पुगेर महिलाले शौचालय निर्माण गरी शौच गर्ने बानीको विकास गर्न अभियान थालेका हुन् । अभियानमा यस क्षेत्रका दुई सयभन्दा बढी महिलाको संलग्नता रहेको छ ।

यहाँका महिलाले थालेको अभियानको सिको गर्दै जोनापुरका पहुरा थारु युवा समाजमा आबद्ध युवाले समेत जुवातास खेल्ने कार्यमा रोक लगाएर गाउँलाई जुवातासबाट मुक्त गरेका छन् ।

जुवातास खेल्नेहरुलाई देख्नेबित्तिकै जरिवाना तिराउने भएकाले जुवातास खेल्ने कार्य हट्दै गएको समाजका अध्यक्ष पर्शु चौधरीले बताउनुभयो । “युवाकै सक्रियतामा सबैका घर घरमा शौचालय बनाउने कार्य तीव्र रुपमा अगाडि बढेको छ” – उहाँले भन्नुभयो ।

प्रतिक्रिया