शिक्षकहरु धमाधम राजीनामा दिँदै

इनेप्लिज २०७२ भदौ २६ गते ४:०१ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, २६ भदौ । शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतले निकालेको तथ्याङ्कमा जिल्लामा स्थायी, अस्थायी, राहतका गरी ५६ जना शिक्षकको लाइसेन्स नरहेको पाइएको छ । त्यसमध्ये अहिलेसम्म छजनाले राजीनामा दिइसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “आयोगले अहिले लाइसेन्स नभएका शिक्षकलाई धमाधम सेवाबाट अवकाश गर्न भनेपछि उनीहरु आफैँले राजीनामा गर्न थालेका छन् भने लाइसेन्स नभएका शिक्षकको तलब निकासा नै नगर्न परिपत्र आएको छ ।” जिल्लामा बढी विज्ञान र गणित विषय पढाउने शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।

स्थानीय र प्रहरीको सक्रियतामा बन्यो पाँचकोठे प्रहरी चौकी

जिल्लाको आयोम र एकतिन गाविसको सिमाना चरिभञ्ज्याङमा प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच कोठे प्रहरी चौकी निर्माण गरिएको छ ।

ओयाम– ४ र एकतिन– ४ को सिमाना चरिभञ्ज्याङको सिमानामा भाडामा बस्दै आएका चौकीका प्रहरी र स्थानीयवासीको सक्रियतामा प्रहरी चौकी निर्माण गरिएको हो ।

दुवै गाविसका स्थानीयवासीले उठाएको रु चार लाख ५० हजार चन्दा, दुवै गाविसले गरेको रु एक÷एक लाख सहयोग, जिल्ला विकास समिति पाँचथरले प्रदान गरेको आठ बन्डल जस्तापाता, प्रहरी र स्थानीयवासीको श्रमदानबाट भवन निर्माण गरिएको चौकी प्रमुख कमल तोलाङ्गीले जानकारी दिनुभयो ।

चौकीको भवन निर्माणका लागि स्थानीयवासी कृष्णप्रसाद योङ्या, चन्द्रकुमार योङ्या, शिवकुमार योङ्यालगायतले जग्गा उपलब्ध गराउनुभएको हो ।

ट्रान्सफर्मर बिग्रिएपछि दुई महिनादेखि अन्धकारमा बस्न बाध्य

जिल्लाको सदरमुकाम फिदिम नगरपालिका ८ र ९ का स्थानीयवासी दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । त्यहाँ रहेको ट्रान्सफर्मर बिग्रिएका कारण अहिलेसम्म मर्मत नहुँदा झन्डै २०० स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

स्थानीयवासी जीतेन्द्र राईले भन्नुभयो – “हामी अँध्यारोमा बसेको दुई महिना बितिसक्यो अहिलेसम्म कतैबाट विद्युत् सञ्चालन गर्न पहल भएको देखिएन, कहिल्यैसम्म अँध्यारोमा बस्नुपर्ने हो अत्तोपत्तो छैन ।”

उहाँका अनुसार विद्युत् सञ्चालन नहुँदा यसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । फिदिम साना जलविद्युत् परियोजनाले ट्रान्सफर्मर जिल्लामा मर्मत हुन नसक्ने भएकाले विराटनगर लगिएको र मर्मत भई चाँडै आउने जनाएको छ ।

प्रतिक्रिया