मोबाइलबाट मातृशिशु सुरक्षा

इनेप्लिज २०७२ भदौ २६ गते ३:५५ मा प्रकाशित

Pregnancies-and-Cell-Phonesबागलुङ, २६ भदौ । मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ ।

देशमै पहिलो पटक यहाँका चार गाविसमा लागू गरिएको ‘नमुना परियोजना’ सफल भएपछि सबै गाविसमा पुर्‍याउन लागिएको हो ।

‘मेडिक’ मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले परियोजना सञ्चालन गरेको हो । पैंयूपाटा, नारायणस्थान, अमलाचौर, पाला, मालिका, भकुण्डे, सिगाना, बिहुँ, भीमापोखरा, तङ्ग्राम, लहरेपिपल र मूलपानीमा परियोजना लागू भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्मका महिला र नवजात शिशुको स्याहार र स्वास्थ्य जाँचमा सघाउ पु¥याउन ‘मेडिक मोबाइल’ परियोजना ल्याइएको हो । सुरक्षित मातृत्वका लागि सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणाली प्रभावकारी देखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो ।

उनन्साठी गाविसमा रहेका ९५० महिला स्वयम्सेविका र ६१ वटा स्वास्थ्य संस्थालाई स्वतः सन्देश लेनदेन गर्ने ‘सफ्टवेयर’ जडित मोबाइल वितरण गर्न लागिएको छ । परियोजना चलेको गाविस र स्वास्थ्य संस्थामा मोबाइल वितरण भइसकेको परियोजनाका अधिकृत मनोज खड्काले जानकारी दिनुभयो ।

वितरण भएका मोबाइलमा गर्भवती महिलाको नाम र विवरण भित्र्याउने काम सकिएको छ । “मोबाइलबाट गर्भवती, सुत्केरी र शिशुको निगरानी गर्ने यो प्रविधि सफल भएको छ, यसको प्रभावकारिता राम्रो देखिएपछि जिल्लाभर विस्तार गर्न लागेका हौँ” – अधिकृत खड्काले भन्नुभयो ।

महिला स्वयम्सेविकाले मोबाइलमा गराएको गर्भवती दर्ताको आधारमा ‘सफ्टवेयर’ले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचको लागि सन्देश दिने गरेको छ । महिला स्वयम्सेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पु¥याउने गरेका छन् ।

मोबाइलले दिएको सन्देशकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्यसंस्थामै जाने क्रम बढेको पाइएको छ । प्रसूति हुने समयभन्दा दुईहप्ता पहिलेदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गरेको छ ।

मातृ तथा शिशु मृत्युदर घटाउन र स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर बढाउन परियोजना सहयोगी बनेको छ । मोबाइल सन्देशकै आधारमा स्वम्सेविकाले गर्भवती तथा सुत्केरी महिलालाई खबर गर्ने, स्वास्थ्य संस्थामा जानका लागि आग्रह र सहयोग गर्ने गरेका छन् । गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयम्सेविका कहाँ पुग्ने गरेका छन् ।

परियोजना चलेका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूतिमा उल्लेख्य वृद्धि आएको छ । केही महिनाभित्र जिल्लाभर परियोजना विस्तार भइसक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया