पाँच महिनादेखि लाप्राक विद्युत्विहीन

इनेप्लिज २०७२ भदौ २६ गते ३:५० मा प्रकाशित

lightगोरखाबजार, २६ भदौ । भूकम्पपछि गएको पहिरोले लघुजलविद्युत् बिग्रेपछि पाँच महिनादेखि गोरखाको लाप्राक गाउँका स्थानीयवासीले विद्युत् प्रयोग गर्न पाएका छैनन् ।

विद्युत् अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी सुन्न, कुटानीपिसानी मिल सञ्चालन गर्न नसकिएको गुनासो स्थानीयवासी धनबहादुर गुरुङले गर्नुभयो ।

लिसाङ खोला लघुजलविद्युत् आयोजना पहिलो र दोस्रो अवरुद्ध भएर विद्युत् नहुँदा विद्यार्थीले साँझ परेपछि पढ्न पाएका छैनन् । गाउँले रातमा अन्धकारमा बस्न बाध्य छन् । ती दुवै आयोजना २५÷२५ किलोवाट क्षमताका हुन् । केही स्थानीयवासीले सोलार बत्तीले गुजारा चलाउँदै आएका छन् ।

स्थानीयवासी गुरुङले भन्नुभयो, “सबै गाउँलेको टहरोमा सोलार बत्तीको सुविधा छैन । कुहिरो लागेको, पानी परेका बेला सोलार चार्ज हुँदैन” लाप्राकीहरु मट्टीतेल प्रयोग गरेर टुकी बाल्दैनन् । भूकम्पपछि लाप्राकीहरु गाउँ छाडेर गुप्सीपाखा खर्कमा अस्थायी टहरोमा बस्दै आएका छन् । “भूकम्पले भत्केको जलविद्युत् छिट्टै मर्मत गर्नुपर्छ” उहाँले भन्नुभयो ।

लिसाङ खोला पहिलो सरकारको सहयोगमा गाउँलेले विसं २०६० मा निर्माण गरेका थिए । लिसाङ खोला दोस्रो निजीस्तरबाट डम्बर गुरुङले विसं २०७० मा निर्माण गर्नुभएको थियो । गाउँलेले मासिक रु ६० विद्युत् महसुल तिर्दै आएको गुरुङको भनाइ छ ।

जिविस गोरखाअन्तर्गतको वातावरण तथा ऊर्जा शाखाका प्रमुख कुलराज चालिसेका अनुसार भूकम्पले अवरुद्ध बनाएको लघुजलविद्युत्को मर्मतका लागि बजेटको अभाव छ । सौरपानी क्षेत्रमा अवरुद्ध विद्युत् आयोजना स्थानीयवासीले चन्दा उठाएर सञ्चालनमा ल्याएको र आयोजना मर्मतका लागि बजेट केन्द्रसँग माग गरिएको उहाँले बताउनुभयो ।

लाप्राकमा ५९५ वटा टहरोमा स्थानीयवासी बस्दै आएका छन् ।

प्रतिक्रिया