भोलि बिपी जयन्ती मनाइँदै

इनेप्लिज २०७२ भदौ २३ गते १४:२५ मा प्रकाशित

b.p.-koirala-233x152काठमाडौँ, २३ भदौ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको भोलि विभिन्न कार्यक्रमका साथ एकसय एकऔँ जन्मजयन्ती मनाइँदै छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय, सुन्दरीजललगायत देशका विभिन्न ठाउँमा भोलि कार्यक्रम आयोजना गरिँदै छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श,मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ ।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित हुनुभएको थियो ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व प्रदान गर्नुभयो ।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गर्नुभएकोमा त्यो नै पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो ।

नेपाल फर्कने क्रममा उहाँलाई तत्कालीन सरकारले विमानस्थलबाटै पक्राउ गरी देशद्रोहको अभियोगमा कैद ग¥यो ।

साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम्् जीवनी सङ्ग्रह प्रकाशित छन् ।

नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।
उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया