सुत्केरी गराउन स्वास्थ्य संस्था जाने चेपाङ महिला बढे

इनेप्लिज २०७२ भदौ २३ गते ४:४८ मा प्रकाशित

downloadरत्ननगर (चितवन), २३ भदौ । सुत्केरी व्यथाले च्यापेपछि घारी र वनतिर जाने चलन रहेको चेपाङ समुदायका महिलामा अहिले सुत्केरी गराउन स्वास्थ्य संस्था जाने क्रम बढ्न थालेको छ ।

सामाजिक चेतनामा वृद्धि भएकाले उनीहरुको स्वास्थ्य संस्थाप्रति आकर्षण बढेको हो । केही चेतना बढे पनि अझै प्रभावकारी नभएको चितवन शक्तिखोरका अगुवा दलबहादुर चेपाङ भन्नुहुन्छ ।

चितवनको दारेचोक गाविसमा मात्रै गएको एक वर्षमा ९४ को सुत्केरी गराइएको थियो । त्यसमध्ये २३ चेपाङ महिला रहेको स्थानीय स्वास्थ्य चौकीकी सिनियर अनमी पम्फा घर्तिमगरले जानकारी दिनुभयो ।

अघिल्ला वर्षमा उनीहरुको आउने क्रम न्यून भए पनि पछिल्ला वर्षमा भने बढ्न थालेको उहाँको भनाइ छ । अन्य सामान्य ज्वरो, रुघाखोकी हुँदा समेत चेपाङ समुदाय स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ । चितवनको पहाडी नौ गाविसमा बढी चेपाङको बसोबास छ । जिल्लामा ३५ हजारको हाराहारीमा चेपाङको जनसङ्ख्या छ ।

सुत्केरी हुन नसकेर अकालमा ज्यान जाने गरेका खबर बेलाबेलामा आउने गरेको छ । तर पछिल्लो समयमा भने अस्पताल आउने क्रम बढेको छ । तर ठूलो संस्थामा जानु प¥यो भने चाहिँ पैसा अभावले नजाने गरेको अनुभव गाउँका स्वास्थ्य चौकीको छ । “जे हुन्छ यहीँ उपचार गरिदिनुप¥यो भन्छन्, अझ हामी कर्मचारीसँग पैसा माग्छन्, कसरी सम्भव हुनु”– पम्पाले भन्नुभयो । श्रीमायाँ चेपाङ पनि छ पटक भयो स्वास्थ्य संस्था पुगेको छ । पहिले आफ्नो पालामा उहाँले बच्चा जन्माउँदा अस्पताल धाउनु परेन । अहिले भने उहाँ आफैँ बिरामी छोरी कोपिला चेपाङलाई लिएर अस्पताल आउनुभएको हो । उहाँ अहिले अस्पताल नगए कुनै रोग नै निको नहुने बताउनुहुन्छ ।

प्रतिक्रिया