भौतिक पूर्वाधारको काम समयमै सकाउनेलाई सम्मान

इनेप्लिज २०७२ भदौ २३ गते ४:४५ मा प्रकाशित

जाजरकोट, २३ भदौ । जिल्ला शिक्षा कार्यालयले यहाँका दुई सामुदायिक विद्यालयलाई सम्मान गरेको छ । जिल्लाका जनता उच्च मावि पैक र मालिका प्रावि थालारैकर सुगुरखाललाई सम्मान गरिएको हो ।

शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा दुर्गममा रहेर पनि भौतिक पूर्वाधारतर्फको काम छिटो सकाएको भन्दै ती विद्यालयलाई सम्मान गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा दर्जनभन्दा बढी भौतिक पूर्वाधारको काम भए पनि समयमा ती दुई विद्यालयले मात्र कार्य समापन गरेका हुन् ।

यसैगरी कार्यालयले एसएलसीमा सबैभन्दा बढी नतिजा ल्याई जिल्लाकै उत्कृष्ट विद्यालय भएको भन्दै अति दुर्गमको कालिका आदर्श मावि रामीडाँडालाई सम्मान गरिएको छ । जिल्लाभरिका स्रोत केन्द्रमध्येबाट उत्कृष्ट हुन सफल गर्खाकोट स्रोत केन्द्रका स्रोतव्यक्ति मणिराम पोखरेललाई पनि सम्मान गरिएको छ ।

त्यस्तै जिल्लामा राम्रो काम गर्ने दर्जन शिक्षकलाई पनि सम्मान गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया