दाङमा अझै ३३ कम्लहरी मुक्त हुन बाँकी

इनेप्लिज २०७२ भदौ २३ गते २:०८ मा प्रकाशित

Dang_district_locationदाङ, २३ भदौ । दाङलाई पहिलो मुक्त कम्लहरी जिल्लाका रुपमा घोषणा गरे पनि अझै ३३ जना कम्लहरी मुक्त हुन बाँकी रहेका छन् ।

मुक्त कम्लहरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले ती कम्लहरी पहुँचवाला र जमिनदारको घरमा लुकीछिपी बसेका कारण उद्धार गर्न कठिनाइ भएको र उद्धार कार्यमा सहयोग गरी दिनका लागि प्रशासन, नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दल, पत्रकारलगायत सबैमा आग्रह गर्नुभयो ।

उहाँले विगतमा कम्लहरी र सरकारबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने र अब बन्ने नयाँ संविधानमा कम्लहरीको मागलाई सम्बोधन गरी उनीहरुको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने मागसमेत गर्नुभयो । उहाँले कम्लहरीको आर्थिक अवस्था निकै नाजुक भएकाले दस जोड दुईपछिको पढ्न पाउने शिक्षाको सहज वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो ।

मुक्त कम्लहरी विकास मञ्च दाङको २०६५ सालको तथ्याङ्कअनुसार दाङमा करिब चार हजार पाँच सय कम्लहरी रहेको र अहिले करिब नौ सयको हाराहारीमा कम्लहरी स्कुल तथा क्याम्पसमा शिक्षा आर्जन गर्दै आएका छन् भने तीन सय १८ कम्लहरी आफँैले सञ्चालन गरेको आठवटा सहकारी संस्थामा बचत गरेको रकमबाट सुँगुर, बंगुर, बाख्रा, कुखुरापालनका साथै कृषि पेसा गरिरहेको चौधरीले बताउनुभयो । दाङलाई २०६५ माघ १ गते मुक्त कम्लहरीरहित जिल्ला घोषणा गरिएको थियो ।

प्रतिक्रिया