शनिबार बिहानदेखि अवरुद्ध मेची राजमार्ग खुल्यो

इनेप्लिज २०७२ भदौ २० गते १४:४७ मा प्रकाशित

ताप्लेजुङ, २० भदौ । पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध बनेको मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत ताप्लेजुङ–कावेली सडकखण्डमा पर्ने खोक्से खोला नजिकै झरेको पहिरो आज दिनभर लगाएर पन्छाइएको छ भने धुसेनी भिर नजिकै सडक माथिबाट झरेको ठूलो ढुङ्गा जिलेटिनको सहायतामा फुटाएर पन्छाइएको छ ।

शनिबार दिनभरको प्रयास विफल भएपछि धुसेनी नजिकै रहेको ढुङ्गालाई आज जिलेटिनको सहायतामा पड्काउने तयारी स्वरुप होल खोपेर छाडिएको थियो । एउटा मात्रै स्काभेटर मेसिनको प्रयोग गरिएकाले पहिरो पन्छाउन ढिला भएको हो । बाटो खुलेसँगै शुक्रबारदेखि रोकिएका ताप्लेजुङबाट बाहिरिने सवारीका साधन गन्तव्यतर्फ लागेका छन् भने ताप्लेजुङ भित्रने सवारीसाधनसमेत सञ्चालनमा आएका छन् ।

शनिबार बिहानैदेखि बाटो अवरुद्ध हुँदा यस जिल्लाबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीका साधनबीच बाटोमै रोकिएर रहेका थिए । ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत खोक्से खोला क्षेत्रमा बर्सेनि वर्षात्को समयमा पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले पहिरो पन्छाउन मेसिन र जनशक्ति नखटाउँदा सानो पहिरो झर्दासमेत घन्टौँसम्म बाटो अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया