कञ्चनपुर, १९ भदौ । कञ्चनपुरको दोधारा चाँदनी–९ कुतियाकभरका बासिन्दा जोगबुढा नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
नदी वारपार गर्न यहाँका बासिन्दाले वर्षौंदेखि डुङ्गाको प्रयोग गर्दै आएका छन् । गाउँमा विद्यालय नहुँदा बालबालिकालाई डुङ्गाकै सहारामा नदी तारेर टाढाको विद्यालय पठाउने गरेका छन् । “बालबालिका नदी पार नहुँदासम्म नदीको डिलमा बसेर कुर्नुपर्ने अवस्था छ”–स्थानीयवासी मदनबहादुर सुनारले भन्नुभयो । आवश्यक खाद्यान्न, घाँस, दाउरा र जिल्ला सदरमुकाम पुग्नकै लागि पनि डुङ्गाको भरमा नदी तर्दै आएको उहाँले बताउनुभयो ।
महाकाली र जोगबुढा नदीले घेरिएको क्षेत्र भएकाले बर्सात्का बेला नदीमा पानीको बहाव उच्च हुँदा सबै क्षेत्रको सम्पर्क विच्छेद हुने भएकाले आवश्यक वस्तु आपूर्ति गर्न नसक्दा भोकभोकै बस्नुपर्ने अवस्थासमेत आउने गरेको स्थानीयवासीको भनाइ छ ।
नगरपालिका, जिविस र मन्त्रालयसम्म पुल निर्माणका लागि पुग्दासमेत सबै क्षेत्रबाट आश्वासन पाइए पनि पुल बन्न नसकेको यस क्षेत्रका बासिन्दाको भनाइ छ । महाकाली र जोगबुढा नदीले वर्षौंदेखि जग्गा कटान गरी बगाउँदै आएकाले तटबन्ध निर्माण गरिदिनसमेत सम्बन्धित निकायलाई यहाँका बासिन्दाले माग गरेका छन् ।
प्रतिक्रिया