रेडक्रसद्वारा ए–क्सरे मेसिन चलाउन अस्पताललाई जेनेरेटर प्रदान

इनेप्लिज २०७२ भदौ १९ गते ३:१० मा प्रकाशित

generator1-1024x796ताप्लेजुङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले जिल्ला अस्पताल ताप्लेजुङलाई ए–क्सरे मेसिन नियमित सञ्चालनमा ल्याउन जेनेरेटर उपलब्ध गराएको छ ।

बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सहयोगमा प्राप्त ६.५ किलोवाट क्षमताको जेनेरेटर शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । बिजुली नियमित नभएका कारण ए–क्सरे मेसिन नै प्रयोगमा नआउँदा सेवाग्राही समस्यामा परेको विषयलाई दृष्टिगत गर्दै आफूहरुको पहलमा जेनेरेटर उपलब्ध गराएको रेडक्रस शाखा ताप्लेजुङका सभापति गणेश अधिकारीले बताउनुभयो ।

जिल्लामा बिजुली नियमित नहँुदा र मागअनुसारको पर्याप्त विद्युत् नहँुदा अस्पताल, सञ्चारमाध्यम, व्यवसायी एवम् स्थानीय सर्वसाधारण मारमा पर्दै आएका छन् ।
यसैबीच आजै रेडक्रस सोसाइटी शाखा ताप्लेजुङको आयोजनामा सरोकारवालासहितको बैठक बसी गत साउन १ गतेदेखि ताप्लेजुङको हाम्पाङमा सञ्चालित जिल्लास्तरीय सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउन सो गाविसमा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गर्ने निर्णयसमेत भएको बताइएको छ ।

गत साउन १ गतेदेखि नै सो गाविसमा प्रकोप व्यवस्थापन, जीविकोपार्जन, स्वास्थ्य, सङ्गठन तथा क्षमता विकास, आयआर्जन, स्थानीय आवश्यकताका आधारमा अन्य कार्यक्रम सञ्चालन गरिँदै आएको छ । तीनवर्षे सो परियोजनालाई अघि बढाउन सबै क्षेत्रको थप सहयोग आवश्यक भएको भन्दै सबै क्षेत्रको सरसहयोग तथा समन्वयका लागि जिल्लास्थित सरोकारवाला सङ्घसंस्थाबीच छलफल गरिएको हो ।

प्रतिक्रिया