पृथ्वी ,राष्ट्रियता र मानिस

इनेप्लिज २०७२ भदौ १७ गते १५:४२ मा प्रकाशित
Untitledप्रमुख पात्रहरू:- नारद , फूलसरा र हिमलाल  तथा सहायक पात्रहरु : चार छोरीहरु
 ( यस लघु उपन्यासका पात्रहरु काल्पनिक हुन् , कहिँ कतै मिल्न गएमा संयोगमात्र हुनेछ )

भाग-एक

चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठूलो उत्साह थियो किनकि उनीहरुको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठूलो हर्ष बढाँई  नै भयो उ जन्मँदा। ४ दिदीहरुको न्यानो माया सहित गाढा अविभावक  वात्सल्य प्राप्त गरेको हिमलाल शारीरिक र मानसिक दुबै रुपमा तन्दुरुस्त बन्दै गयो  ।परिवार धौ- धौ ले चलेको हुँदा दिदीहरुले दैनिक रुपमा ठूलो   कामको जिम्मेवारी वहन गर्नुपर्थ्यो भने हिमलालले  पनि स-सानो काममा सघाउनु कर्तव्य बन्न आउंथ्यो ।नारद र फूलसरा चाँही त बिहान भाले बासेदेखि अबेर साँझसम्म काममा जोतिनुको विकल्प थिएन। हुनपनि आकारले ठूलो परिवारको पालन पोषण निकै गाह्रो थियो उनको परिवारलाई। तरपनि आशाको त्यान्द्रो हिमलालको जन्मले सिंगो परिवारमा उत्साहसहितको उज्यालो ल्याएको थियो  ।सबैको माया र स्नेहको केन्द्रबिन्दु हिमलाललाई सबैले माया गरेर हेमु भनेर बोलाउथे  । यथेष्ठ माया ममता पाएको भएपनि उ बिल्कुल मात्तिएको थिएन  ।उमेर बढ्दै जाँदा उसलाई पनि गाउँको आधुनिक सुबिधा नभएको प्राथमिक स्कुलमा भर्ना गरियो जबकि कान्छी बाहेक उसका ३  दिदीहरुले  त्यस स्कुलको पढाइ सकाएका थिए भने  टाढाको स्कुलमा गएर पढाईलाई निरन्तरता दिने परिस्थिति थिएन  ।उ कान्छी दिदीसंग स्कुल जान्थ्यो  ।३ दिदीहरुले इच्छा हुंदाहुदै  आफुहरुले धेरै पढ्न नपाए पनि भाइलाई सबै मिलेर पढाउने अठोट गरेका थिए  ।त्यसैले जे छ त्यसैमा सन्तुष्टि गर्न सक्ने परिवारका सदस्यहरुका कारण नारद र फूलसरा पनि खुसि थिए  । नारदका सबै छोरा-छोरी चलाख थिए । लाग्थ्यो , गरीबीले तिनीहरुलाई प्रशिक्षण गरिरहेको थियो जिउने  तरिका सिकाईरहेको थियो ।भोको न भकारीको अवस्था भएपनि उनीहरु स्वस्थ र सुन्दर थिए । हिमलाल पढाइमा राम्रै थियो भने फूटबल खेल्न औधी मन पराउँथ्यो ।सुरु सुरुमा टोल-टोलका समूह बनाएर आफ्नो प्यारो टोललाई जिताउन दिलोज्यान दिएर खेल्थे । पछि बिस्तारै गाउँ – गाउँको खेल हुन थाल्यो ।शुरुमा आफ्नो टोललाई आफ्नो राष्ट्रियता , अनि आफ्नो गाउँलाई गर्दै उसको माया -ममताको क्षेत्र र राष्ट्रियतामा पनि व्यापकता आयो ।

भाग- दुई

समय बित्दै जाँदा परिवारका सदस्यका दवाबका  कारण नभएपनि परिस्थितिले गर्दा बिपन्न ग्रामिण जीवन नारदको परिवारका लागि झन् -झन् चुनौतिपूर्ण बन्न थाल्यो।  बढेका छोरीहरु , हिमलाललाई प्राथमिक पास गरिसकेकोले हाइ स्कुल पठाउनु पर्ने लगायत अन्य विविध कारणले मनोबैज्ञानिक दवाब सिर्जना हुन थाल्यो। बाहिरबाट झ्वाट्ट हेर्दा ठिकै देखिएपनि भविष्यमा हुनसक्ने अप्ठयारालाई मध्यनजर राख्दै नारद र फूलसराले विकल्पहरुको बारेमा सोच्न थाले । परिस्थितिलाई राम्ररी बुझ्न सक्ने फूलसराले बिचरा नाराद्लाई कहिल्यै अप्ठेरोमा पार्ने काम गरिनन् बरु समाधानका  विकल्प खोजेर सहयोग गर्दथिन । अन्तरिक रुपमा छोरीहरुलाई चाहेजति पढाउन नपाएकोमा निकै दुखी थिए एकातिर भने अर्को तर्फ अत्यन्तै इमान्दार भएपनि उमेर बढ्दै जाँदा तिनीहरुको जवानीको मर्म र आवश्यकता बुझेर समयमा राम्ररी तिनीहरुको बिहे-दान गर्न नसकिने होकी भन्ने ठुलो पिरलोमा थिए ती दम्पत्ति  । नारदले पहाडमा भन्दा न्यून आर्थिक अवस्था हुने परिवारलाई तराईमा जीविकोपार्जन गर्न सजिलो हुने कुरा बर्षौं पहिला तराई झरेका आफ्ना अफ़न्तहरुबाट सुनेका  थिए । उनी  फूलसरासंग राम्रो सर-सल्लाह र छोरा-छोरीहरु संग सामान्य कुरा गरेर तराईको बारेमा राम्ररी कुरा बुझ्न एकपटक तराई जाने निधो गरे   । उनी एकजना आफन्त जो  धेरै बर्ष पहिला बसाई सरेर तराई गएका थिए , तिनको घरमा पुगे  । पहिले धेरै चोटी भेट्न बोलाउंदा पनि पुग्न नसकेको नारद ति आफन्तकोमा लाज र अप्ठ्यारो  मानी मानी गए ।फराकिलो जमिन र निबेक-धिमेक गरेरै भएपनि पहाडी प्रदेशको तुलना केहि प्रगति गर्न सकिने सम्भावना बुझेर आफन्तको राम्रै सहयोग हुनसक्ने आस्वाशन समेत  पाएर एक हप्ता मै उनी घर फर्के । आफन्तहरुको राम्रो बन्दोबस्त देखेर पहिल्यै तराई नझरेकोमा हल्का पश्चाताप गर्दै घरमा सारा बेली विस्तार लगाए  जसबाट फूलसरा लगायत परिवारका सदस्यहरुबाट सकारात्मक प्रतिक्रिया आयो  । छोरीहरु  हल्का उत्साहित भए भने हिमलाललाई खासै प्रभाव परेन  । उनले आफ्ना आफन्तलाई जग्गा जमिन बेचेर तराई जाने कुरा बताए  । ति आफन्तले उनलाई जहाँ गएपनि तेस्तै हो , यहाँ पनि बिकासका पूर्वाधार बन्दै छन भनेर नजाने सल्लाह दिएपनि उनले आफ्नो मन- मष्तिस्कमा बनाएको बलियो निर्णयलाई बदल्न सक्ने कुरा थिएन, फलस्वरूप सामान्य मुल्यमा भएको जग्गा-जमिन बेचेरै छाडे  । हिमलालको पहाडी राष्ट्रियता तराईको  राष्ट्रियतामा परिणत हुनेकुरा त्यति  सजिलो भने थिएन   । अन्तत , सदियौं देखिको त्यो परिवारको त्यो पहाडी इलाकसंगको  भावनात्मक सम्बन्ध एक प्रकारले अन्त्य हुने भो । उनको यो निर्णय निकै ठूलो छलांग नै हो र ठूलो संक्रमण पनि । छाडेर जाने निर्णय भएपनि सजिलो भने थिएन , व्यबहारिकरुपमा त्यसलाई सहि व्यबस्थापन  गर्न।

भाग- तिन

जति जति तराई झर्ने दिन नजिकिन थाल्यो , त्यति त्यति नारद र फूलसरा  दुबिधामा भएपनि छोरीहरु र हिमलाल भने खुसी देखिन्थे किनकी कान्छी छोरी र हिमलालले राम्ररी नबुझेर खुसी थिए भने हुर्केका छोरीहरुले चाँही बढेको जवानी र आवश्यकताका कारण  नंया अवसर पाउने हचुवा आशामा खुसी थिए । जे जसरि भएपनि उनीहरुले पिर नमानेकोमा  नारद र फूलसरालाई राम्रै लागेको थियो  । परिवाररुपी ठुलो जहाजका चालकदल(नारद र फूलसरा) भने गहिरो सोचाईमा थिए ।

तर दिन बित्दै जाँदा सुरुमा उत्साहित देखिएका छोरीहरु र हिमलाल पनि  केहि निराश देखिन थाले र नंया ठाउंको बारेमा अनेक जिज्ञाशा गर्न थाले भने सुरुमा दुबिधामा रहेका नारद दम्पत्ति चाँही झन् पछि झन् मन बलियो बनाउनु पर्ने स्थितिमा पुगे ,हुनत तिनीहरुले(नारद र फूलसरा)पनि जान नसक्ने परिस्थिति भो भने फेरी यतै बस्न मिल्ला वा नमिल्ला भनेर आपसमा सल्लाह र छलफल नगरेका होइनन  । हिमलाल लगायत सबैमा लाग्न थाल्यो , सबै बसेका छन् , हामी मात्रै किन जानु पर्यो ? आखिर मैले मेरो गाउँको लागि पल्लो गाउँसंग किन दुस्मनी गर्न पनि तयार भएँ ?मलाई लाग्थ्यो यो ठाउं कहिल्यै छाड्दिन ? तर अहिले ? के हो माया , के  हो राष्ट्रियता ? यसैलाई सिंगो संसार किन मानेका रहेछौं हामीले ? आदि आदि । हुँदा हुँदा साथी-संगी छाडेर जाने कुराले भित्र भित्र पिरोल्न थाल्यो, बिशेष गरि छोरा छोरीहरुलाई ।तर धेरै ढिला भैसकेको थियो , सम्पूर्ण तयारी गरेर घर छाड्नुको विकल्प थिएन ।रमाइलो -नरमाइलो , उत्साहित -निरुत्साहित तथा आशाबादी- निराशाबादी हुदै गर्दा जाने दिन आइसक्यो।जाँदा राम्रो हुने र नजाँदा राम्रो हुने गाउँलेहरुका सुझावहरुले पनि उनीहरु के गरौं के नगरौं भएका थिए ।त्यसो त नजाँदा राम्रो हुने भन्ने धेरै हुँदा झन् समस्या परेको थियो, गाउँ छाड्न । त्यति बेला निर्णय भै हाल्यो केहि परिस्थिति सुधारेर हामी यतै फर्किन्छौँ  र भेटघाटको लागि त बर्सेनि आइरहन्छौँ भन्दै आफन्त र गाउँलेहरुले प्याक गरेका ब्याग  प्याक लिएर बाटो लागे ।तर हिंडे पछि ………!!!!!!! ….. फर्किने भन्ने  कुरा ?????…… राष्ट्रियता ? , पहाडको राष्ट्रियता ??, तराईको   राष्ट्रियता  ???……. कुन ठाउं कसको ??????

भाग- चार

नयाँ ठाउं, नयाँ परिवेश ,आफन्तहरुसंगको भेटघाट , समथर भूभाग , जहाँ गए पनि  सेवा -सत्कार ।सुरु सुरुमा लाग्थ्यो कि ठिकै  गरिएछ  । तर केहि दिन पछाडि, सबै आ-आफ्नो काममा लागे   । आफ्नो लागि कसले सारा बन्दोबस्त मिलाइदिने ? आफन्तहरुसंग सानो कामका लागि पनि  ठुलो अनुनय -विनय गर्नुपर्ने रहेछ ।सुरु सुरुमा जे जस्तो भएपनि बर्षौं देखि पहाडमा जोडेका सबै  कुराहरु  छाडेकै कारण समस्या भयो । अनि सानो पुँजी ,ठुलो परिवार , गर्न सके आम्दानीका स्रोत धेरै  हुने भएपनि सुरुमा नौलो अवस्थामा धेरै समस्या आइलाग्यो तिनीहरुलाई  ।केहि समय त जे भएपनि पहाड नै ठिक थियो जस्तो भयो  । तर केहि समय लगत्तै, जब एउटा सानो जमिनको टुक्रा किनेर सानो घर बनाउन सुरु के गरेका थिए , ठेक्कामा प्रशस्त जमिन लिने मौका समेत मिल्यो । घरमा काम गर्ने मान्छे प्रशस्त भएकोले टन्न खेतीपाती उब्जाए । निकै ठुलो परिश्रम गरेकोले पहिलो बर्ष नै केहि बचत गर्न सफल भयो नारदको  परिवार ।छोरीहरु ठूल-ठूला भई सकेकोले स्कुल जान मानेनन् तर हिमलालले भने पढाइलाई निरन्तरता दिई रह्यो ।फूटबलमा राम्रो रुचि भएकोले विभिन्न खेलहरुमा आफ्नो जिल्लालै जिताउन लागिपर्न थाल्यो र करिब करीब तराईको गर्दा पहाडी राष्ट्रियता अलिकति ओझेलमा पर्न शुरु भयो हिमलालको, सम्झना र माया नभएको भने होइन ।

 राम्रै आम्दानी र बचत समेत  भएकोले परिवारका सबै सदस्यको जीवनस्तरमा केहि सुधार हुन थाल्यो ।सौन्दर्य र अनुशासनका धनी छोरीहरुको बर्सेनि बिहे गरदिनु पर्ने हुन थालेको थियो । तराई झरेको २ बर्षपछी ठूली छोरीको विवाह भयो। स्थिति केहि सुध्रि सकेको हुनाले राम्रै परिवारसंग सम्बन्ध गाँस्न पाएकोमा सबै खुसि भए।उता हिमलालले हाई स्कुल पास गरेकोले काठमाडौँ पढ्न जाने इच्छा गर्यो ।काठमाडौँ मा खर्च गरेर पढाउन सक्ने स्थिति नभएपनि सामान्य नोकरी गरेर पढ्ने योजना सहित हिमलाल काठमाडौँ हानियो ।होटेलमा बेलुका काम गर्ने र बिहान पढ्ने गर्न थाल्यो ।साथीहरु तथा अरु चिनजान धेरै भएपनि खराब संगतमा चाँही लागेन । सम्पर्क आदिले गर्दा कसरी संसारको अल्लि बिकसित मुलुक जान पाए हुन्थ्यो भन्ने मनमा लग्न थाल्यो र संयोगले उसले अमेरिकाका  लागि भरेको डि भी चिठ्ठा उसलाई पर्यो र उसलाई अमेरिका जाने अवसर प्राप्त भयो। डि भी चिठ्ठा परेको खबरले सबै घर-परिवार र आफन्त खुसी भए तर नारद र फूलसरामा भने एक्लो छोरा , अब त घरको परिथिति पनि ठिकै भएको छ , कहाँ जाने होला ? कस्तो होला त्यो अमेरिका ? भनेर चिन्ता पनि छायो खुसी संगै उनीहरुमा ।अमेरिका जान पाएपछि नजाने कुरै भएन, त्यसमाथि जुनसुकै विदेश जान खुट्टा उचालेको मान्छे ।सबै कुराको व्यवस्था मिलाएर साथै तराई र पहाडतिर रहेका आफन्तहरु भेटघाट गरि अमेरिका जान अन्तिम तयारीमा पुग्यो । केहि बर्ष काठमाडौँ बस्दा काठमाडौँको राष्ट्रियताले पनि उसलाई गाँजिसकेको थियो। काठमाडौँ छोड्न घर छाड्न जत्तिकै गाह्रो भयो , हिमलाललाई । हुनत, उसका पहाडदेखिका स्मरणहरु उसको मानस पटलमा आईरहन्छन । सरदार मानिसहरुको जीवनमा भन्दा पनि धेरै जहाँ बस्यो त्यंही सम्बन्ध बन्ने र अर्को राष्ट्रियता सिर्जना हुने कुरा उसको जीवनमा धेरैचोटी भएको देखिन्छ  । आखिर राष्ट्रियता त , कुनै भौगोलिक वा राजनीतिक सिमाना वा एरियाभित्र रहेका मानिसहरुको त्यस स्थान प्रतिको अगाध माया ,अनुभूति र भावनात्मक सम्बन्ध न हो ।

भाग- पाँच

Himlal  FUntitledamily(Imaginary)

नेपालको पहाडी प्रदेशको सानो गाउँमा जन्मेर तराई प्रदेशमा हुर्के, बढेको र पढेको मौलिक नेपाली ठिटो हिमलाल (हेमु)ले काठमाडौँ हुदै अहिले अमेरिकाको व्यस्त शहरमा अति बिकसित प्रबिधि र नंया परिवेशमा  उन्नति र प्रगतिको निम्ति नवीनतम संघर्ष गरिरहेको छ ।सुरु सुरुमा  पढाईको  साथै दिनको १५/१६ घण्टा काम गरेर एउटा राम्रो अवस्था र स्तर बनाएको छ अमेरिकामा उसले  ।उसले एउटा सानो व्यवसाय संचालन गरेको छ र उसले जीवनमा ठूलो संघर्ष गरेका आफ्ना बाबु-आमा नारद र फूलसरालाई पनि अमेरिका ल्याउन सफल भएको छ र उसले नेपाली मूलकी American केटीसंग विवाह गरेको छ  । उता सबै छोरीहरु विहेदान भैसकेकाले आ-आफ्नो घरमा रझाई रहेका छन् , उनीहरुसंग हिमलाल- नारदहरुको जिवन्त सम्पर्क भैरहन्छ। आर्थिक उन्नति सहितको सबै स्तर कायम गरे पनि कुन्नि के के नपुगेको जस्तो , सुख छ तर कता कता सन्तुष्टि नभए जस्तो अनौठो जीवन बिताइरहेका छन उनीहरु  ।

नारदले आफ्नै छोराले सुरु गरेको  व्यवसायमा सघाउछन भने फूलसराले घरमा सहयोग गर्छिन।उमेरले पाका भैसकेका नारद, फूलसरा र हिमलाललाई पनि सपना जस्ता भएका छन् यी घटनाक्रमहरु  । पहाडी गाउँको त्यो राष्ट्रियता  तराईमा झर्यो , तराईको  राष्ट्रियता  काठमाडौँ सर्यो र अहिले पुराना ती सबै राष्ट्रियताहरु (आत्मीय हिसाबले नभई व्याबहारिक हिसाबले )अमेरिका उडेर आएको  छ ।हुनत सबै पुराना याद- स्मरण जिवन्त छंदैछन तर नारदको परिवार अहिले अमेरिकामा बसेको छ (मौलिक थलोमा छैन)  । अल्पसंख्यक भएर बसेको छ यहाँ , आफ्नो परिचय बदलेको छ । यसलाई के भन्ने ?? यसको उत्तर नपाएपनि नारदले मन-मनै भनेका छन् “कुन देशको मान्छे कहाँ पुगेको छ , कुन ठाउँको मान्छे कहाँ?  अनि अब त यति मात्र भन्न सकिन्छ मान्छेले पृथ्वी बनाएको होइन , पृथ्वीमा मानिस देखा परेका हुन्  ।सृष्टिको प्रारम्भमा (सुरुमा) निकै कम जनसंख्या हुँदाका मानिस हामी सबैका  साझा पूर्खा  उनै थिए । जनसंख्या बढ्दै जाँदा पृथ्वीका विभिन्न ठाउँमा बसाई-सराइ हुदै गयो अनि त्यहाँको  हावापानी र परिवेशले आकार-प्रकार रुप रंग निर्धारण गर्यो। विभिन्न प्रचलनहरु सुरु भए ,जुन एक अर्को भन्दा भिन्न हुन पुगे ।अर्थात् समग्रमा फरक फरक संस्कृतिको निर्माण भयो । आज ति हिजोका सबै आफन्तहरु समयको अन्तरले पराइ जस्तै मात्र नभई फरक र कतिपय हिंस्रक जन्तु जस्तै पनि बनेका छन । तर अहिले विश्वव्यापीकरण र विभिन्न सुबिधाहरुले फेरी सबै नजिक बनाउन खोजेको भान हुन्छ ।मानिसहरु अहिले समिश्रित भएर बस्न थाले । यो गत्यात्मक विश्वमा कुनै पनि चिज  स्थीर  रहेनछ। मौलिक रुपमा जे थियो त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ, त्यो जहाँ गएपनि प्राण भन्दा प्यारो छ तर पनि यथार्थमा पृथ्वी मानिसको ठूलो घर हो भने, मानिसहरु यस बृहत्  परिवारका  सदस्यहरु हुन्।जहाँ गएपनि मानव हितका निम्ति काम गर्नु र मानिस भएर मानिसको जस्तो  सभ्य जीवन बिताउनु नै ठूलो कुरा रहेछ, सारा कुरा परिबर्तनशील रहेछन । मानिस परिस्थितिको दास भएकोले उसले चाहेर मात्र सबैकुरा नहुने रहेछ । कतै धेरै  सुख भएपनि  ,सन्तोष नहुने त कतै कम सुख भएपनि सन्तुष्टि हुने यी सबै समय र परिथितिका खेल हुन्र यसरी नारद तथा उनको परिवार जीवन र जगतलाई बुझेर चित्त बुझाउने परिस्थितिमा छ ।

“ईतिश्री

“कथा फूल हो भने उपन्यास बगैंचा हो

(लेखक सिर्जनशील नेपाली समाज Houston, TX USA का संस्थापक अध्यक्ष हुन् )

 

प्रतिक्रिया