चितवनमा एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि

इनेप्लिज २०७२ भदौ १७ गते २:२७ मा प्रकाशित

Chitwan_district_locationचितवन, १७ भदौ । चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् ।

सन् २००७ मा स्थापना गरिएको यस संस्थाबाट चितवनमा अहिलेसम्म ६४ जना एड्स सङ्क्रमित आमाले बच्चा जन्माइसकेका छन् । जसमध्ये तीन जना बच्चा मात्रै एड्स सङ्क्रमित भएको जन्मिएका फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताउनुभयो । एचआइभी सङ्क्रमित आमा र बाबु दुवैले नियमित औषधि सेवन गरेको खण्डमा उनीहरुबाट जन्मने बच्चालाई एड्स सङ्क्रमण हुनबाट बचाउन सकिने सापकोटाको भनाइ छ ।

सन् २०१४ मा एचआइभी सङ्क्रमित आठजना आमाले सङ्क्रमणमुक्त बच्चा जन्माएका थिए भने २०१५ को अगस्तसम्म पाँचजना आमाले सङ्क्रमणमुक्त बच्चा जन्माएको फाउन्डेसनको तथ्याङ्कले देखाएको छ । फाउन्डेसनमा अहिले गोर्खा, धादिङ, मकवानपुर, नवलपरासीलगायत जिल्लाबाट एचआइभी सङ्क्रमित उपचार गराउन आउने गरेको कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । त्योमध्ये चितवनको भरतपुर उपमहानगरपालिका, नारायणी नगरपालिका, माडी नगरपालिका, जुटपानी, शक्तिखोर, रत्ननगर नगरपालिका क्षेत्रका महिला र पुरुष बढी मात्रामा एचआइभी सङ्क्रमित रहेको उहाँले बताउनुभयो ।

एचआइभी सङ्क्रमण भएका थाहापाएको समयदेखि एआरवी औषधि सेवन गर्ने हो भने बच्चामा यो रोगको सङ्क्रमण नदेखिने एचआइभी सङ्क्रमित एक आमाले बताएकी छन् । नारायणी नगरपालिका स्थायी ठेगाना भएकी फुलमाया अधिकारी (नाम परिवर्तित)लाई २०६८ सालमा एचआइभी सङ्क्रमण देखिएको थियो । उनकी श्रीमान् विकास अधिकारी (नाम परिवर्तित) लाई २०६६ सालमा एचआइभीको सङ्क्रमण देखिएको थियो ।

उनीहरुले २०६८ सालपछि मात्रै दुई सन्तान पाएका छन् । यी दुवै सन्तानमा एचआइभी सङ्क्रमण नरहेको डिएनए पिसिआर परीक्षणले देखाएको छ । उनीहरुले नियमित रुपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै आएका थिए । उनीहरुको जेठी छोरी अहिले चार वर्षकी भएकी छन् । तर उनलाई त्यस्तो खासै समस्या देखिएको छैन । जसका कारण उनीहरुले दोस्रो सन्तानका रुपमा यही भदौ ९ गते छोरालाई जन्म दिएका छन् ।

विकास वैदेशिक रोजगारका क्रममा छिमेकी राष्ट्र भारतमा रहँदा उनलाई एचआइभी सङ्क्रमण भेटिएको थियो । तर अहिले उनीहरुको परिवारमा यसको कुनै समस्या रहेको छैन । उनीहरु अहिले दुवैजनाले सामाजिक संस्थामा आबद्ध रहेर काम गर्दै आएका छन् । पहिलो बच्चा जन्माउने क्रममा जोखिम मोलेका अधिकारी परिवार अहिले भने त्यस्तो समस्या नरहेको बताउँछन् । पहिलेपहिले समाजले हेर्ने दृष्ट्रिकोण नकारात्मक भए पनि अहिले त्यसका परिवर्तन हँुदै गएकाले आफूहरुलाई समाजमा रहेर काम गर्न सहज बन्दै गएको अधिकारी दम्पतीको भनाइ छ ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमा अहिले गर्भवती महिलाले एचआइभी परीक्षण गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । सङ्क्रमित महिलाबाट सुरक्षित बच्चा जन्माउने पहिलो संस्थाका रुपमा एड्स हेल्थ फाउन्डेसन रहेको छ । पहिलो सन्तानको समयमा किराना पसल सञ्चालन गरेका अधिकारी दम्पती अहिले समाजमा रहेका सङ्क्रमितको समस्या समाधानका लागि लागिपरेका छन् । विकास अहिले एड्स हेल्थ फाउन्डेसनमा नै कार्यरत रहेका छन् भने फुलमाया छहारी महिला समूहमा कार्यरत छिन् । उनीहरु चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नका लागि अन्य सङ्क्रमितलाई समेत आग्रह गर्छन् । एचआइभी सङ्क्रमित हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै अधिकारी दम्पतीले सबैलाई खुलेर स्वास्थ्य परीक्षण गराउनसमेत आग्रह गर्दै आएका छन् ।

एचआइभी सङ्क्रमित महिलाले बच्चा जन्माउन हुँदैन भन्ने भ्रम फुलमायाको जीवनबाट सिक्न सकिने उनको नियमित स्वास्थ्य परीक्षणमा रहनुभएका चिकित्सक उन्नत श्रेष्ठले बताउनुभयो । रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति (सिडी फोर) को कमी भएका सङ्क्रमितले भने सिडी फोरमा परिवर्तन नआउँदासम्म गर्भ राख्न नहुने चिकित्सक श्रेष्ठको भनाइ छ । सिडी फोरको मात्रा शरीरमा पाँच सयभन्दा कम भएमा एचआइभी सङ्क्रमितलाई समस्या आउने गरेको उहाँले बताउनुभयो ।

बच्चाको आमाले नियमित औषधि सेवन गरी रहेको खण्डमा आमाको दूध खुवाउँदासमेत खासै असर नपार्ने चिकित्सकले बताएका छन् । एचआइभी सङ्क्रमित महिलाबाट जन्मिएको बच्चामा एचआइभी सङ्क्रमण छ कि छैन भन्ने विषयमा बच्चा ६ हप्ताको भएपछि गरिने रगत परीक्षणले पत्ता लाग्ने फाउन्डेसनका कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । जुन परीक्षण नेपालमा सम्भावना नहुने भएकाले निःशुल्क रुपमा बैङ्ककमा पठाइने गरिएको छ ।

प्रतिक्रिया