पहिरोले तीन गाउँको बस्ती उच्च जोखिममा, ताथलीका बासिन्दा गाउँबाटै विस्थापित

इनेप्लिज २०७२ भदौ १७ गते १:५४ मा प्रकाशित

भक्तपुर, १७ भदौ । भूकम्पले चिरा पारेको पहाड खसेर पहिरो जान थालेपछि ताथली गिरीटोलको १६ घर पहिरोको उच्च जोखिममा परेको छ ।

घरको पेटी र आँगनसम्मै पहिरो आएपछि यहाँका ५० प्रतिशत बासिन्दा अन्यत्रै विस्थापित भएका छन् भने अन्यत्र जग्गा नहुनेहरु रातभर नसुती त्रासमा बस्नु परेका छन् । महामञ्जुश्री—नगरकोट नगरपालिका ताथली—३ सौडोल गिरीटोलका सानुभाइ गिरीको घर भूकम्पले पूरै भत्कायो । भत्किएको घरस“गैको खाली ठाउ“मा ऋण गरेर जस्ताको अस्थायी टहरा बनाएर बसे पनि टहरा नजिकै पहिरो आएपछि दिनरात त्रासमा बा“च्नु परेको दुखेसो पीडित गिरीले गर्नुभयो ।

गिरीले भन्नुभयो–“भूकम्पले घर भत्कियो, अस्थायी टहरा पनि पहिरोले लैजानै लाग्यो पाँच मिटर अगाडि नै पहिरो आइसक्यो त्रासले रातभर निद्रा नै लाग्दैन ।” भूकम्पपछिको लगातारको परकम्प र अविरल परेको वर्षाले महामञ्जुश्री–नगरकोट नगरपालिका–३ ताथली सौडोलका गिरी, बस्नेत, खड्का, छुँका, वासुकला र न्हेम्हाफुकी टोल पहिरोको जोखिममा परेको छ । त्यसमध्येमा पनि सौडोलको गिरी, बस्नेत, खड्का र छुँका टोलको बस्ती उच्च जोखिममा परेको छ । गिरीटोलको पूर्व, उत्तर र पश्चिम तीनैतर्फबाट एक सय ५० मिटर तलबाट गएको पहिरो अस्थायी टहरा नजिकै आएपछि यहाँका १६ घर पहिरोले बगाउने अवस्थामा पुगेको हो ।

फैढोकाबाट सौडोलको गिरीटोल जाने कंडेला पाखा सामुदायिक वनमा गएको पहिरोले यहाँको एक मात्र सडक बगाउँदा यहाँका बासिन्दालाई आवतजावतसमेत ठप्प भएको छ । सामुदायिक वनकी संस्थापक अध्यक्ष एवम् स्थानीयवासी साबित्री बस्नेतले पहिरोले बाटोसमेत लगेपछि झन् बिजोग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“गाउँमा आउने बाटोसमेत पहिरोले बगायो, बिरामी हुँदा अस्पताल लैजाने, आगलागी भएमा दमकल ल्याउने र कसैको मृत्यु भएमा घाटसम्म लैजाने बाटोसमेत छैन ।” बाटो नहुँदा दैनिक उपभोग्य सामान ल्याउन र गाउँमा उत्पादन भएको सामान बजार पु¥याउन सकिएको छैन । पहिरोका कारण यहाँ खानेपानीको समेत हाहाकार भएको छ । फैढोकादेखि कंडेला पाखा हु“दै गिरी, बस्नेत, खड्का टोल जाने सडक र बस्तीमा गएको पहिरोले खानेपानीको पाइप बगाएपछि पानीको समेत अभाव भएको हो ।

पहिरोका यहाँका २० घरपरिवार विस्थापित भइसकेका छन् । स्थानीयवासी सानुभाइ गिरी भन्नुहुन्छ–“अन्त बस्ने जग्गा र विकल्प भएका गाउँ छाडेर गइसके, हाम्रो त न बस्ने घर छ, न अन्त कुनै जाने ठाउँ नै छ, पानी परेदेखि दिनरात त्रासमा बा“च्नु परेको छ ।” भूकम्प र त्यसपछिको पहिरोले गाउँ नै रित्तिएको बताउँदै स्थानीयवासी भगवती गिरीले अन्यत्र बस्ने विकल्प नभएकाले जोखिम मोलेरै भए पनि बस्नु परेको बताउनुभयो । पहिरोले गाउँ नै बगाउन लाग्दा पनि कुनै पनि निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

त्यसैगरी खड्का टोलका घनश्याम खड्का अस्थायी टहरा नै जाने गरी पहिरो आएपछि कहा“ बस्ने जाने अन्योलमा परेको बताउनुहुन्छ । महामञ्जुश्री नगरकोट नगरापालिका–३ को गिरी, बस्नेत, खड्का, न्हेमाफुकी र छुँका वासुकला टोलमात्र करिब ९० घरटहरा पहिरोको उच्च जोखिममा रहेको खड्काले जानकारी दिनुभयो । सौडोलकै देवी उच्च माध्यमिक विद्यालय भवनसमेत पहिरोको उच्च जोखिममा परेको छ । ६ सय ५० विद्यार्थी अध्ययनरत यस विद्यालयमा पहिरोले शौचालयको गारो बगाएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णगोपाल छुंकाले बताउनुभयो ।

पहिरो विद्यालयको चमेना गृह र कार्यालयसम्मै आएको बताउँदै उहाँले विद्यालयको पर्खालसमेत पहिरोले लगेकाले विद्यार्थीहरु खस्ने र पहिरोमा पर्ने डर भएको छ भन्नुभयो । यता महामञ्जुश्री–नगरकोट नगरपालिका—५ सुडालको दुलाल गाउ“समेत पहिरोको उच्च जोखिममा छ । भूकम्पका कारण चिरा परेको स्थानमा वर्षाको पानी छिरी पहिरो जान थालेपछि दुलाल गाउ“का ३० घर पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी सञ्जीव दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया