भूकम्पमा मृत्यु हुनेको सामूहिक गाईजात्रा

इनेप्लिज २०७२ भदौ १६ गते १४:३४ मा प्रकाशित

भक्तपुर, १६ भदौ । आठ दिनसम्म मनाइने गाईजात्रा पर्वको चौथो दिन आज भक्तपुरमा भूकम्पमा परी मृत्यु हुनेको सम्झनामा सामूहिक गाईजात्रा मनाइएको छ ।

भूकम्पमा परेर भक्तपुरमा ज्यान गुमाउने ३४३ जना र १८८ जना विदेशी पर्यटकको सम्झनामा मानवीय आस्था नेपालले सामूहिक गाईजात्रा मनाएको हो ।

भक्तपुरको सूर्यविनायकस्थित बाराही मन्दिरबाट मृतकका आफन्त, परिवार र स्थानीय जनताले भूकम्पबाट मृत्यु हुनेहरूको तस्विरसहितको प्ले कार्ड बोकेर श्रद्धाञ्जलि अर्पण गर्दै भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरेको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले बताउनुभयो ।

कार्यक्रममा घिन्ताङ घिसी नाच प्रर्दशन गर्नुका साथै साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागी हुनुभएका उद्योगमन्त्री महेश बस्नेतले पीडामा परेका नागरिकलाई सान्त्वना दिने र विभिन्न जातिबीच सद्भाव कायम गर्न सघाउ पु¥याउने संस्कृतिलाई जोगाउन यस कार्यक्रमले टेवा पुगेको बताउनुभयो ।

प्रतिक्रिया