एक करोडको अलैँची बिरुवा बिक्री

इनेप्लिज २०७२ भदौ १६ गते १४:११ मा प्रकाशित

alaichiइलाम, १६ भदौ । जिल्लाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ ।

जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् ।

अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार भन्दा बढी बिरुवा खरिद गरेको छ । केन्द्रले यस वर्ष रु २७ लाख ७५ हजारको बिरुवा बिक्री गरेको अधिकारीले बताउनुभयो ।

केन्द्रले किसान र कृषि कार्यालयलाई प्रतिगोटा रु पाँचका दरले बिरुवा बिक्री गरेको हो । यसका साथै किसानले निजीस्तरबाट समेत रु ७० लाखभन्दा बढीका बिरुवा बिक्री गरेका छन् ।

जिर्मलेका याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजार, शमसेर राईले पाँच लाख ३० हजार, भोलानाथ वाइवाले डेढ लाख तथा मङ्गलबारेका नरेन्द्र सुवेदी र वेदप्रसाद राईले एक÷एक लाख अलैँची बिरुवा उत्पादन गरी बिक्री वितरण गर्नुभएको हो ।

किसानले निजीस्तरमा उत्पादन गरेका बिरुवा सरकारी दररेटभन्दा केही महँगो मूल्यमा बिक्री भएको छ । किसानले प्रतिगोटा रु छदेखि रु आठसम्ममा बिरुवा बिक्री गरेका हुन् ।

बिरुवाको माग धान्नै नसक्ने गरी आएको थियो तर सीमित मात्र बिरुवा भएकाले मागअनुसार बिक्री गर्न नसकिएको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यस केन्द्रले मुलुकमै अलैँचीखेती विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

यस वर्ष धेरै माग आएकाले १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा चिवेसाइ, गोलसाई, रामसाइ, डम्बरसाइ र जिर्मले जातका बिरुवा उत्पादन गरिएको छ ।

प्रतिक्रिया