एमाले संविधान जारी गर्ने पक्षमा छ: नेत्री भण्डारी

इनेप्लिज २०७२ भदौ १६ गते १३:४३ मा प्रकाशित

bidhya-bhandariपथरी (मोरङ), १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जस्तोसुकै हालतमा पनि आफ्नो पार्टी संविधान जारी गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेत्री भण्डारीले विभिन्न जातजातिका नाममा भइरहेका हिंसात्मक आन्दोलनबाट संविधान जारी गर्ने प्रक्रियामा अवरोध पुग्ने भएपनि संविधान जारी भएरै छोड्ने बताउनुभयो ।

आन्दोलनरत मधेसवादी दलहरु वार्तामा आउन नचाहेको बताउँदै उहाँले विभिन्न भ्रम फैलाएर हिंसात्मक आन्दोलन चर्काउने काम बन्द गर्न ती दललाई आग्रह गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले समाजमा हिंसा भड्काउने खालका अपराधिक गतिविधि गर्ने नेपाली जनता नभएको बताउनुभयो ।

सचिव भीम आचार्यले संविधान जारी गर्न नदिने तत्वले हिंसा भड्काएको बताउनुभयो ।

“वार्ता र सहमतिबाट समस्याको निदान”

आज यहाँ आयोजित एक छलफल कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्तमान अवस्थामा वार्ता तथा सहमतिबाट मात्रै समस्याको समाधान निस्कने बताउनुभयो ।

सीमाङ्कनको विषयमा विवाद भई असन्तुष्ट पक्षबाट भइरहेको आन्दोलन सुरुमा शान्तिपूर्ण भएपनि पछिल्लो समयमा हिंसात्मक हुँदै गइरहेको उहाँको टिप्पणी थियो । उहाँले कैलालीको टीकापुरमा भएको घटनामाथि आयोगले अनुगमन तथा छानविन गरेपछि घटनाका सबै सत्यतथ्य बाहिर आउने पनि बताउनुभयो ।

प्रतिक्रिया