जिल्ला अस्पतालमा शल्यक्रिया सेवा विस्तार भएपछि सर्वसाधारणलाई राहत

इनेप्लिज २०७२ भदौ १५ गते २:२२ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १५ भदौ । जिल्ला अस्पताल म्याग्दीमा शल्यक्रियालगायतका सेवा विस्तार भएपछि जिल्लावासीलाई राहत मिलेको छ ।

जिल्लामै विभिन्न रोगको शल्यक्रिया सेवा उपलब्ध भएपछि धेरै धनराशि खर्च गरेर काठमाडाँै, पोखरा, चितवनलगायतका सहरमा पुग्नुपर्ने म्याग्दीवासीलाई राहत मिलेको हो ।

अस्पतालले सुरक्षित प्रसूति, हाडजोर्नी, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइड र छातीमा चोटपटक लागेको समस्याको शल्यक्रिया सेवा यसै वर्षदेखि सुरु गरेको चिकित्सक धीरेनकुमार मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा ४१ वटा शल्यक्रिया गरिएकोमा भदौको मध्यसम्म शल्यक्रिया सेवा लिनेको सङ्ख्या ४४ जना पुगेका छन् ।
अस्पताल परिसरमा साझा औषधि पसल सञ्चालन गर्नुका साथै दन्त सेवा पनि सुरु भएको छ । पन्ध्र श्यया क्षमताको अस्पतालले हाल २५ श्यया बराबरको सेवा प्रवाह गरिरहेको छ । दुई जना चिकित्सकको दरबन्दी भएको अस्पतालमा हाल तीन जना विशेषज्ञसहित आठ चिकित्सक कार्यरत छन् ।

चिकित्सक र अन्य प्राविधिक जनशक्ति उपलब्ध भएकाले स्वास्थ्य सेवा विभाग, निक साइमन इन्स्टिच्युटका साथै विभिन्न दाताबाट सहयोग जुटाएर उपकरण थप गरेर शल्यक्रिया सेवा सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

नयाँ भिडियो ए–क्सरे मेसिन र वैकल्पिक ऊर्जाको व्यवस्था गरिएपछि सेवा प्रवाह गर्न सहज भएको अध्यक्ष केसीको भनाइ छ । अस्पतालले थप रु एक करोड बराबरको उपकरण जुटाएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया