दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग निर्माण

इनेप्लिज २०७२ भदौ १५ गते २:०६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १५ भदौ । म्याग्दीको शिख गाविस–६ र ७ मा पर्ने पाउद्वार गाउँका बासिन्दाले दिवङ्गत आफन्तको स्मृतिमा धार्मिकस्थल खयर भारानी जाने पदमार्ग निर्माण गरेका छन् ।

पाउद्वार गाउँदेखि दुई दिनको पैदलयात्रापछि पुगिने समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयर भारानी तालमा पुग्ने भक्तजनको सुविधाका लागि गाउँलेले व्यक्तिगत लगानी गरेर पदमार्ग निर्माण गरेका हुन् ।

भौगोलिक रुपमा विकट उक्त तालसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा भक्तजन जेखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । खयरभारानी थान पुनःनिर्माण तथा व्यवस्थापन समितिको अगुवाइमा पाउद्वार गाउँका करिब ३० भन्दा बढी घरपरिवारले दिवङ्गत आफन्तको सम्झनामा पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाएका हुन् ।

पहिलो चरणमा अप्ठ्यारो र जोखिमयुक्त ठाउँमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाउने काम गरिएको समितिका अध्यक्ष राजु पुनले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्तिले पदमार्ग र खयर भारानीको पूर्वाधार विकासका लागि पछिल्लो तीन वर्षयता रु ५२ लाख लगानी गरेका छन् ।

पदमार्ग निर्माण गर्नेको नाम र लागत बाटोमा शिलालेखमा लेखेर सार्वजनिक गरिएको छ । नगद हुनेले आर्थिक सहयोग गरेर मजदुरमार्फत पदमार्ग बनाएका छन् भने नहुनेले आफ्नो क्षमताअनुसार श्रमदान गरेर अभियानमा सहभागिता जनाएका छन् । उकालो र चिप्लो बाटोमा भक्तजन लडेर चोटपटक लाग्ने समस्या थियो ।

पदमार्ग निर्माण भएपछि त्यस्तो समस्या कम भएको र भक्तजनलाई समेत सहज भएको अध्यक्ष पुनले बताउनुभयो । करिब १० हजार वर्गफिट क्षेत्रफलमा गोलो आकारमा फैलिएको खयर भारानी तालमा प्रत्येक वर्षको जनैपूर्णिमाका दिन भव्य मेला लाग्ने गर्छ ।

खयर भारानीको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । जनैपूर्णिमाको दिन खयर भारानी तलाउमा पूजाआजा र भाकलका लागि पुगेका भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया