आमहडतालका कारण रिक्सा मजदुरलाई हातमुख जोड्न गाह्रो

इनेप्लिज २०७२ भदौ १५ गते २:०४ मा प्रकाशित

IMG_1678लहान, १५ भदौ । लामो समयदेखिको आमहडतालका कारण सिरहाका यातायात र रिक्सा मजदुरलाई हातमुख जोड्न समस्या भएको छ ।

संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारीसभालगायतले आह्वान गरेको आमहडतालका कारण विगत १६ दिनदेखि यातायातका साधन ठप्प हुँदा रिक्सा चलाएर गुजारा चलाउँदै आएका मजदुरलाई हातमुख जोड्न समस्या भएको हो ।

सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानलगायतका स्थानमा दिनभरि रिक्सा चलाएर परिवार पाल्दै आएका रिक्सा मजदुरलाई यातायात नचलेपछि गुजारा चलाउन धौ–धौ भएका छन् ।

यातायात चल्दा परिवार चलाउन सहज थियो, लहान नगरपालिका–८ का बिरजु सदा भन्नुहुन्छ– ‘‘लामो आमहडतालले रिक्सामा यात्रु नपाइएपछि गुजारा चलाउन समस्या भएको छ ।” आफूले रिक्सा चलाएर पाँच जनाको परिवार पाल्दै आएको छु, तर आमहडतालले रिक्सामा यात्रु नभेटिँदा पेसा नै सङ्कटमा परेको छ उहाँको गुनासो छ ।

लामो आमहडतालले रिक्सा चलाउने पेसा ठप्प हुँदा दुई दिनदेखि परिवारका सदस्य भोकभोकै बसेको दुखेसो सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘‘बेरोजगार भएपछि परिवार पाल्नै गाह्रो भएको छ ।”

स्थानीय साहुसँग ऋण लिएर रिक्सा खरिद गरेका लहान–८ कै सुनिल सदालाई पनि रिक्सा नचल्दा ठूलो समस्या परेको छ । ऋण लिएर रिक्सा खरिद गरेको थिए, सुनिल भन्नुहुन्छ– ‘‘रिक्सा चलाएरै परिवार पाल्नुको साथै साहुको ऋण पनि तिर्दै आएको थिए, तर आमहडतालका कारण रिक्सा नचलेपछि नत साहुको ऋण तिर्न सकेको छु, नत परिवार नै राम्ररी चलाउन सकिरहेको छु ।”

आमहडतालले बजार, पसल र उद्योगधन्दा ठप्प हुँदा मालसमानसमेत ढुवानी भइरहेको छैन, लहानमा ठेला चलाउँदै आएका लहान–१ मटिर्वाका शम्भुराम भन्नुहुन्छ– ‘‘आमहडतालका कारण कमाइनै चौपट हँुदा दैनिक गुजारा चलाउन गाह्रो भइसकेको छ ।” बजार, पसल खुल्दा मालसमान ढुवानी हुँदा दिनको रु ५०० सम्म कमाइ हुन्थ्यो, तर आमहडताले बन्द हुँदा ठेल्ला थन्किदा गुजारा चलाउन धौधौ भएको छ ।” लहानमा करिब २०० को हाराहारीमा रिक्सा मजदुर रहेका छन् ।

लहानबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधनमा मजदुरको काम गर्दै आएका युवा आमहडतालका कारण बेरोजगार भएका छन् । यातायात मजदुर बेरोजगार भएपछि तिनीहरुमा आश्रित परिवारलाई दैनिक गुजारा गर्न ठूलो समस्या भएका छन् ।

बस चल्दा राम्रै कमाइ हुँदा परिवार चलाउन समस्या थिएन्, लामो समयदेखि आमहडताल भएपछि बेरोजगार भएको छु, यातायात लहान नगा–७ का बिन्दु कामती भन्नुहुन्छ– ‘‘मजदुरी गरेरै परिवार चलाउँदै आएको छु, तर विगत १६ दिनदेखि यातायात बन्द भएपछि गुजारा चलाउन कठिनाइ भएको छ ।” गुजारा गर्ने एकमात्र आधार यातायात दुई साताभन्दा बढी समयसम्म बन्द हुँदा परिवार चलाउनसमेत कठिनाइ भएको छ ।

मजदुरी गरेरै परिवारको गुजारा चलाउँदै आएका मजदुर युवा आमहडतालका कारण बेरोजगार भएपछि तिनीहरुमा आश्रित कतिपय परिवार भोकभोकै बस्न बाध्य छन् भन्ने कतिपय मजदुर ऋणमा डुबेका छन् ।

आफ्ना अधिकारका लागि लामो समयदेखि आमहडताल गर्दा कमाएर खाने आफूहरुको अधिकार कुण्ठित भएकाले आमहडतालको विकल्प खोज्नसमेत मजदुरले आग्रह गरेका छन् ।

गरिबी र विपन्नताको मार खेप्दै आएका मजदुर आमहडतालले बेरोजगार भएपछि चोरी, लुटपाटलगायतका विकृति बढेको स्थानीय बताउँछन् । आमहडताल भएयता लहान नगरपालिकाको एक दर्जन स्थानमा चोरीका घटना भएको स्थानीयवासीको भनाइ छ ।

मजदुरीमा संलग्न युवा बेरोजगार भएपछि तिनीहरु चोरीमा संलग्न हुन थालेका छन्, लहान नगरपालिका–८ का फिरोज सिद्धिकी भन्नुहुन्छ– ‘‘बन्दको विकल्प नखोजिए, यो समस्या भोलिका दिनमा अझ भयाबह हुन सक्छ ।” त्यसैले सबै निमुखा मजदुरको समस्याप्रति गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया