पशुपतिनगर सीमानाकाबाट सत्र जनाको उद्धार

इनेप्लिज २०७२ भदौ १५ गते २:०२ मा प्रकाशित

इलाम, १५ भदौ । पूर्वी इलामको पशुपतिनगर नाका हुँदै भारत जान लागेका सत्र जनालाई माइती नेपाल र प्रहरीले सीमानाकाबाट उद्धार गरेको छ ।

भारतको दार्जिलिङस्थित बतासे भन्ने ठाउँमा जान भनि हिँडेका १५ महिला र दुई पुरुषलाई सीमानाकाबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।

उद्धार गरिएकामा १९ वर्षदेखि ३५ वर्ष उमेर समूहका महिला र पुरुष रहेको प्रहरीले जनाएको छ । रोजगारीको लागि भारत जाने बताए पनि कुन कम्पनीमा जाने भन्नेबारेमा नबताएका कारण शङ्का लागेर सीमानाकाबाटै उद्वार गरी आफन्तको जिम्मा लगाउन थालिएको माइती नेपालले जनाएको छ ।

उद्धार गरिएकामा इलामको नयाँबजार, मोरङको पथरी, झापा र पाँचथरका महिला रहेका छन् । सोधपुछपछि आठ जनालाई आफन्तको जिम्मा लगाइसकिएको र अन्यलाई समेत आफन्त बोलाई जिम्मा लगाइने माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिनुभयो । उनीहरुलाई कस्ले र किन भारत लैजान लागेको भन्ने बारे प्रहरी र माइती नेपालले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया