पार्टी अनुमतिबिना संशोधन प्रस्ताव नराख्न एमालेको निर्देशन

इनेप्लिज २०७२ भदौ १४ गते १४:१९ मा प्रकाशित

Umlकाठमाडौँ, १४ भदौ । नेकपा (एमाले) स्थायी समितिले पार्टीको सहमतिबिना ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि कुनै पनि प्रकारको संशोधन प्रस्ताव नराख्न आफ्ना सभासद्लाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले संशोधनको मस्यौदामाथि के कस्तो संशोधन गर्ने भन्नेबारे संसदीय दलले तोकेको आधिकारिक व्यक्तिले मात्र संशोधन हाल्ने व्यवस्था मिलाएको जनाएको छ । सोसम्बन्धी सूचना पार्टीका सम्पूर्ण सभासद्लाई दिइने निर्णय भएको पार्टीले जनाएको छ ।
शान्ति र सद्भावका अभियान
सङ्घीय प्रदेशको सीमा निर्धारणपछि देशका विभिन्न भागमा देखिएका घटनालाई लिएर मुलुकभर शान्ति र सद्भावका अभियान अघि बढाउने निर्णयसमेत गरिएको छ । शान्ति, सद्भाव, राष्ट्रिय एकता कायम गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था र क्लबलाई आआफ्ना गतिविधि गर्न अनुरोध गर्ने र त्यसका लागि एमालेले पहलकदमी लिने निर्णय पनि बैठकले गरेको छ ।
संविधान निर्माणसँग जोडिएर भइरहेको राजनीतिक घटनाक्रमका बारेमा सूचना लिइएको र सो विषयसँग जोडेर देशभित्र र बाहिरका शक्ति तथा राष्ट्रबाट आएका प्रतिक्रियाको समेत विश्लेषण गरिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टी कार्यालयमा आगजनी गर्ने, झन्डा फाल्ने, तोडफोड गर्ने, सार्वजनिक एवम् निजी सम्पतिमा क्षति पु¥याई शान्ति र सदभाव बिथोलेर हिंसात्मक घटनासहितका अराजक गतिविधि देशका विभिन्न भागमा भइरहेको हुँदा नेपाली जनतामा भय र त्रासको वातावरण गरी आतङ्क मच्चाउने त्यस्ता गतिविधिको बैठकले निन्दा गरेको छ ।

“यस्ता गतिविधिमाथि कडा नियन्त्रण गर्न, जनताको जिउधनको सुरक्षा गर्न र शान्ति सुरक्षा बहाली गर्नका लागि सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ”–नेता भट्टराईले भन्नुभयो ।

संविधान निर्माणसँग जोडिएर विभिन्न राष्ट्र र नेताबाट आएका टिप्पणीलाई गम्भीर चासोका साथ हेरिएको बताउँदै प्रमुख भट्टरराईले भन्नुभयो, “संविधान निर्माण गर्ने काम नेपालको आन्तरिक मामिला हो, नेपालको संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानलाई समर्थन गर्नु, सद्भाव र नेपालको हित चिताउनु मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको दायित्व हो ।”

नेता भट्टराईले सबै मित्र राष्ट्र र त्यससँग सम्बन्धित नेतालाई नेपालको राष्ट्रिय एकता भड्किने तथा जनतामा विभाजन ल्याउने खालको कुनै अभिव्यक्ति नदिन पनि गम्भीर ध्यानाकर्षण गराएका छौँ भन्नुभयो ।

यस्ता विषयवस्तु जेजस्तो ढङ्गबाट आइरहेका छन् त्यसको वास्तविकताबारे नेपाल सरकारका विभिन्न माध्यम र कूटनीतिक पहलबाट जानकारी लिनुपर्ने आवश्यकता बैठकले औँल्याएको छ ।

बैठकमा पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीसँग कार्यप्रगतिबारे जानकारी दिन आमन्त्रण गरेकामा उपप्रधानमन्त्री वामदेवले मुलुकको समग्र शान्ति सुरक्षा र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको चासो बैठकमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया