पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय चिह्न र नारा सार्वजनिक

इनेप्लिज २०७२ भदौ १४ गते १३:३२ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । भूकम्पपछिको नेपालको पर्यटन प्रवद्र्धनका लागि विशेष अभियान सुरु गरिएको छ ।

नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्नका लागि नेपाल पर्यटन प्रवद्र्धन समितिले राष्ट्रिय चिह्न र नारा सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल विश्वको चुचुरामा फर्कियो’ भन्ने नारा र नेपालका पुरातात्विक सम्पदा, मठमन्दिर, हिमाल र राष्ट्रिय झन्डाको आकर्षक चिह्न बनाइएको छ ।

समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले राष्ट्रिय पर्यटन प्रवद्र्धन अभियानको चिह्न र नारा सार्वजनिक गर्दै अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले चिह्न र नारालाई सबै पर्यटन व्यवसायीले प्रयोग गर्न तथा एउटै आवाजका र एकताका साथ पर्यटन पुनरुत्थानमा जुटेका छौँ भन्ने विश्वलाई सन्देश फैलाउन आग्रह गर्नुभयो ।

समितिका उपाध्यक्ष योगेन्द्र शाक्यले अभियानले भूकम्पपछिको नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको र केही क्षति भएका पनि पुनःनिर्माण भइरहेको बताउँदै यसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समितिले नेपालका अधिकांश सांस्कृतिक सम्पदा, पदयात्रा पर्वतारोहण र पर्वतारोहण आकर्षण पुरानै अवस्थामा फर्किसकेकाले निर्धक्कका साथ नेपाल भ्रमणका लागि आउन पर्यटकलाई आग्रह गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया