आयोगका पदाधिकारी र थारु सभासद्बीच छलफल

इनेप्लिज २०७२ भदौ १४ गते १३:१४ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र विभिन्न राजनीतिक दलका थारु सभासद्बीच मुलुकको वर्तमान अवस्था र मानवअधिकारको स्थितिका बारेमा छलफल भएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा तराईका विभिन्न जिल्लामा सीमाङ्कनको विरोध गर्दै भएको प्रदर्शन र कैलालीको टीकापुर घटनालगायतलाई लिएर भइरहेको आन्दोलनका कारण आमनागरिकमा पर्न गएको असुविधा तथा मानवअधिकार हनन्का विषयमा छलफल भएको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले शान्तिपूर्ण तवरले बिनाहातहतियार सभा, जुलुस गर्न पाइने, आफ्ना माग राख्न पाइने, मानिसको भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने र हरहालतमा मानवअधिकारको उच्च सम्मानका साथ रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

आयोगले मानवअधिकारको रक्षा गर्ने आफ्नो दायित्वमा कुनै किसिमको सम्झौता नगर्ने भन्दै उहाँले बन्दका क्रममा प्रदर्शन हुँदा कैलालीलगायत जिल्लामा घटेका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, सुरक्षाको प्रत्याभूत हुनुपर्ने बताउनुभयो ।

सभासद् सुरेन्द्र चौधरी, रामजनम चौधरी, तेजलाल चौधरी, जनकराज चौधरी, अमनलाल मोदी र गोपाल दहितले आफ्ना समुदायका माग नयाँ बन्ने संविधानमा सम्बोधन गर्नुपर्ने, टीकापुरलगायत तराईका विभिन्न जिल्लामा सेना परिचालन गरी निषेधाज्ञा लगाइएको हुँदा मानव अधिकारको स्थिति नाजुक रहेको धारणा राख्नुभएको थियो ।

आन्दोलनका क्रममा थारु महिलालाई दुव्र्यहार गरिएको, युवा घर छाडी भाग्नु परेको तथा गृह प्रशासन निष्पक्ष हुन नसकेको, झुठा मुद्दामा युवालाई फसाइएको, निषेधाज्ञाको समयमा सभासद् समेतका घर, सम्पत्ति तोडफोड तथा आगजनी गरी सामाजिक सद्भाव विथोलिदासमेत प्रशासन मौन रहेकाले आयोगकै पहलमा सर्वपक्षीय वार्ता गरी समस्याको निराकरण गर्न सभासद्ले आयोगको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

यसैबीच आयोगका सदस्य सुदीप पाठकको नेतृत्वको एक टोली कैलाली क्षेत्रमै रहेको र अर्का सदस्य मोहना अन्सारीको नेतृत्वको टोली नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ क्षेत्रमा अनुगमनमा रहेको छ ।

रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिरहा र धनुषामा मानवअधिकार अवस्थाको बारेमा आयोगको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । यसैगरी सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वको एक टोली मानवअधिकारको स्थितिको अनुगमन गर्न भोलि पूर्वाञ्चल क्षेत्रका झापा, मोरङ, सुनसरी, इलामलगायत जिल्ला जाने भएको आयोगका कामु सचिव वेदप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया