जीवन भोगाइको ‘कालचक्र’

इनेप्लिज २०७२ भदौ १४ गते १२:२६ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । साहित्यकार तथा कलाकार लय सङ्ग्रौलाद्वारा लिखित ‘कालचक्र’ नामक उपन्यास आजदेखि बजारमा आएको छ ।

लेखकले विभिन्न समयका भोगाइ तथा अनुभवलाई आधार बनाएर लेखेको कृतिमा मानिसको जीवनमा प्रकृतिबाट पर्ने प्रभाव तथा आध्यात्मिक दर्शनका पक्ष समावेश गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा कृति विमोचन गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले मुलुकमा अहिले सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको खाँचो औँल्याउँदै साहित्यकारले सबै जातजाति र भाषाभाषीको मन जित्ने कृति सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

लेखक एवम् कलाकार हरिवंश आचार्यले नेपाली समाजमा खोज तथा अनुसन्धानमूलक साहित्यको अभाव रहे पनि उपन्यासमा पाठकको आकर्षण बढ्दै गएको र यसको राम्रो बजार निर्माण हुँदै गएको बताउनुभयो ।

इतिहासविद् प्रा डा सुरेन्द्र केसीले राजनीतिज्ञले मुलुकको भविष्यका लागि आवश्यक दिशानिर्देश गर्न नसकेका कारण समाजमा अशान्ति र द्वन्द्व बढ्दै गएको विचार व्यक्त गर्दै अहिलेको अवस्थामा आध्यात्मिक दर्शन तथा नैतिकताको खाँचो रहेको विचार व्यक्त गर्नुभयो ।

लेखक सङ्ग्रौलाले कसैले पनि चाहेर वा नचाहेर कालचक्रमा पुग्नुपर्ने घटनाक्रमलाई दार्शनिक विश्लेषण गर्दै पुस्तक तयार पारिएको जानकारी दिनुभयो । उपन्यास डिकुरा पब्लिकेसनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया