सिद्धार्थनगरको स्वरुप फेरिँदै

इनेप्लिज २०७२ भदौ १४ गते १२:१९ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), १४ भदौ । रुपन्देहीको सिद्धार्थनगरलाई नेपालकै सुन्दर नगरका रूपमा विकास गर्न थालिएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई देशकै नमुना नगरपालिकाका रुपमा विकसित गर्ने काम अगाडि बढेको छ । जसका लागि एसियाली विकास बैंकले नगरपालिकालाई ठूलो सहयोग गरेको छ ।

सिद्धार्थनगर नगरपालिका रुपन्देहीले एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) कार्यक्रमको १५ प्रतिशत काम सम्पन्न गरेको छ । नगरपालिका र एसियाली विकास बैंकबीच विकास निर्माणका काममा सम्झौता भई सन् २०१२ देखि कार्य सुरु गरेको नगरपालिकाले तीन वर्षमा १५ प्रतिशत काम पूरा गरेको हो ।

प्रारम्भिक चरणमा नेपालका चार वटा नगरपालिका धरान, जनकपुर, नेपालगन्ज र सिद्धार्थनगर नगरपालिकालाई एसियाली विकास बैंकले सहरी विकास आयोजनाको काम गर्नका लागि छनोट गरेको थियो । उक्त बैंकको आर्थिक सहयोगमा सुरु गरिएको आयोजनाअन्तर्गत सिद्धार्थनगरको १० दशमलव तीन किलोमिटर सडक, ३२ किलोमिटर नालीको निर्माण तथा २२ किलोमिटर नाली सफाइ र सामाजिक विकासजस्ता कार्यक्रम रहेका छन् ।

आयोजनाको सामाजिक विकास, फोहरमैला व्यवस्थापन, सडक र सतह ढल निकासजस्ता विकास निर्माणका सम्पूर्ण काम सन् २०१७ सम्ममा नगरपालिकाले सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रथम चरणमा नक्सा तयार, ठेक्का प्रक्रिया र सामाजिक विकासका काम सम्पन्न भएको आयोजनाका प्रमुख तथा नगरपालिकाका वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

सामाजिक विकासअन्तर्गत कामका लागि गैरसरकारी संस्था छनोट गरी त्यसमार्फत नगरपालिकाका २१ वटा टोलमा आयआर्जनका विभिन्न तालिम, गरिबी न्यूनीकरण र जनचेतनाका काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । टोलका न्यून आय भएका व्यक्तिको चाहनाअनुरुपका मोटर ड्राइभिङ, कम्प्युटर, प्लम्बिङ र वायरिङलगायत तालिम आयोजनाको साझेदारी संस्था नेपाल ग्रामीण विकास केन्द्रले दिइसकेकोे र विभिन्न टोलमा सचेतनामूलक वालपेन्टिङसमेत सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाअन्तर्गत सिद्धार्थनगरका आयोजनामध्ये सतह ढल र नाला निर्माणको डिजाइन सम्पन्न गरी ठेक्काद्वारा महावीर पथको सडक निर्माण १ दशमलव ८४१ किलोमिटर, खजहना पथ ९२० मिटर, उदय पथ १ दशमलव ९४३ किलोमिटर, मैत्रीपथ २ दशमलव ६७५ किलोमिटर, नारायण पथ १ दशमलव ०४६ किलोमिटर, गल्लामन्डी १ किमी र जनकपथ ९०० मिटर सडक निर्माणाधीन अवस्थामा छन् ।

आयोजनाको नक्सा तयार, ठेक्का प्रक्रिया, वर्षात्को समय र गत वैशाखमा गएको विनाकारी भूकम्पलगायतका कारण भौतिक निर्माणको काममा ढिलाइ भएको उल्लेख गर्दै वर्षालगत्तै काम तीव्र गतिमा अघि बढ्ने नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।

भैरहवा क्षेत्र वर्षात्को समयमा डुबानमा पर्ने खतरालाई ध्यान दिई उत्तरतर्फको पड्सरीबाट आउने पानी भैरहवा क्षेत्रभित्र आउनबाट रोकी सिधै डन्डाखोलामा मिसाइने र हरिकीर्तन चोकतर्फबाट आउने पानी घाघरा खोलामा मिसाइने काम अगाडि बढाइएको छ । उक्त क्षेत्रमा नाली निर्माण भएपछि नगरपालिकाका धेरैजसो टोल वर्षात्को समयमा डुबान हुनबाट बच्ने आयोजनाको विश्वास छ ।

सिद्धार्थनगरबाट निस्कने फोहर व्यवस्थापन गर्न सेनेटरी ल्यान्डफिल निर्माण गरिने काम पनि अघि बढाइएको नगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पट्खौली गाविसमा छ बिगाहा जग्गा खरिद गरिसकिएको छ ।

उक्त क्षेत्रमा सेनेटरी ल्यान्डफिल निर्माण कार्य अघि बढाउन रु ३२ करोड ठेक्काका इस्टिमेटको सूचना निकालिएकामा सो रकमभन्दा २२ प्रतिशत बढी रकमको ठेक्का परेकाले उक्त कार्य स्थगित गरिएको छ ।

यसका लागि आयोजनाले पुनः सुचना निकाल्ने तयारी गरेको छ । त्यस्तै आयोजनाअन्तर्गत सिद्धार्थनगरका २२ किलोमिटर नाला सरसफाइका लागि वैज्ञानिक प्रविधि अपनाइनेछ । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणजस्ता कार्य पनि स्वीकृत भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

आयोजनाको डिजाइनअनुसार सडक कालोपत्र हुने, सतह ढल निर्माण हुने, सडकको आकर्षणका लागि कर्बस्टोन रहने, फुटपाथमा हरियाली हुने र प्रत्येक घरबाट निस्कने फोहर पानी सतह ढलमा मिसाउने व्यवस्था गरिनेछ भने निर्माण भइसकेको सडक भविष्यमा तोडफोड गर्न नपरोस् भनी खानेपानी लाइन, बिजुली र टेलिफोन लाइनका लागि फुटपाथ रहने स्थानलाई प्रयोग गरिने आयोजनाले लक्ष्य लिएको छ ।

एसियाली विकास बैंकको रु एक अर्ब ७१ करोड आर्थिक सहयोग रहेको एकीकृत सहरी विकास आयोजनाले सिद्धार्थनगरका सतहढल, सडक र नाला निर्माणमा रु ७८ करोड, फोहरमैला व्यवस्थापनमा रु ३२ करोड, कन्सल्टेन्सीमा रु २० करोड, चालु खर्च रु २६ करोड र बाँकी रु १५ करोड सामाजिक विकास, गैरसरकारी संस्था सम्झौता र विविधमा खर्च गरिनेछ ।

नगरपालिकाको विकास निर्माणका लागि आयोजनाले उक्त बैंकसँग थप रु साढे दुई अर्बको प्रस्तावना पेस गरेको र उक्त प्रस्तावना स्वीकृत भएमा थप २३ किलोमिटर नाली निर्माण र सरसफाइको काम गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर प्रमुख सागरप्रताप राणाले आयोजनाका कार्यमा आफूहरू सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभयो । एकीकृत सहरी विकास आयोजनाको कार्य सम्पन्न भएपछि नगरको स्वरूप नै परिवर्तन हुने बताउँदै उहाँले नगरको समस्याका रूपमा रहेको ढल निकासलाई अझ बढी व्यवस्थित गर्नसके दुरगामी परिणाम आउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया