राप्तीको पर्यटन क्षेत्रमा पाँच करोड लगानी

इनेप्लिज २०७२ भदौ १४ गते १२:१७ मा प्रकाशित

प्यूठान, १४ भदौ । पर्यटन क्षेत्रको विकासका लागि भन्दै पछिल्लो एक वर्षमा प्यूठानसहित राप्तीका पाँच जिल्लामा रु पाँच करोडभन्दा बढी लगानी भएको छ ।

राप्ती अञ्चलमा रहेका पर्यटकीय सम्पदाको प्रवद्र्धन, प्रचारप्रसार र पर्यटकीय क्षेत्रमा लागनी गर्न भन्दै पछिल्लो आव २०७१/७२ मा रु पाँच करोड १६ लाख ६० हजार ९९८ खर्च भएको छ । अञ्चलस्तरीय पर्यटन पर्वद्धन समितिका अनुसार सबैभन्दा धेरै रकम दाङमा भएको छ ।

अञ्चलस्तरीय पर्यटन समन्वय समितिका सदस्य सचिव तथा संस्कृतीविद् डा गोविन्द आचार्यले पर्यटन क्षेत्र क्रमशः प्रथमिकतामा पर्न थालेको बताउनुभयो । प्यूठानमा रु एक करोड ३३ लाख ८३ हजार ५०० रकम पर्यटन प्रवद्र्धनमा खर्च भएको छ ।

त्यस्तै दाङमा पर्यटन क्षेत्रका लागि भन्दै रु एक करोड ५४ लाखभन्दा बढी रकम खर्च भएको पर्यटन समितिले जनाएको छ । जसमा ९५ प्रतिशतभन्दा बढी रकम पूर्वाधार विकासमा र पाँच प्रतिशत रकम प्रचारप्रसार, तालिम, गुरू योजना निर्माण कार्यमा खर्च भएको छ ।

रुकुममा रु ८१ लख ४७ हजार ४९८ पर्यटन प्रवद्र्धनमा खर्च भएको छ । जसअन्तर्गत पूर्वाधार विकासमा रु ५४ लाख ५४ हजार ५०० तथा तालिम, प्रचारप्रसार, सूचना केन्द्र सञ्चालन एवम् प्रचार सामग्री निर्माणजस्ता कार्यमा रु २६ लाख ९२ हजार ९९८ खर्च भएको जिल्ला विकास समितिले जनाएको छ ।

त्यसैगरी रोल्पामा पर्यटन प्रवद्र्धनमा रु ७६ लाख ५५ हजार र सल्यानमा सबैभन्दा थोरै रु ६७ लाख ७५ हजार बजेट खर्च भएको छ । पर्यटन प्रवद्र्धन गर्न भन्दै अञ्चलस्तरीय समिति गठन गरी समितिमार्फत अञ्चलस्तरीय पर्यटन गुरुयोजना निर्माण कार्य जारी राखिएको समितिले जनाएको छ ।

जिल्लामा पर्ने स्वर्गद्वारी आश्रममा रु एक करोड १३ लाख ८३ हजारमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको छ । पर्यटन मन्त्रालयबाट पाकशाला निर्माणमा रु २५ लाख विनियोजन भएर काम सञ्चालन भइरहेको छ ।

यस्तै गौमुखीमा रेलिङसहितको बाटो (सिंढी) निर्माण कार्यमा रु १० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु दुई लाख २७ हजार ५०० को लागतमा ओखरकोट क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना बनाइएको छ । स्वर्गद्वारीको धनबाङस्थित होमस्टेमा रु एक लाख २० हजारको लागतमा कुक तालिम सम्पन्न भएको जिविसको पर्यटन शाखाका संयोजक अरबिन्द बर्माले बताउनुभयो ।

प्रतिक्रिया