मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:४०
वासिङटन डिसी 01:55

वीरगन्जमा लगातार झडप

इनेप्लिज २०७२ भदौ १४ गते १०:३२ मा प्रकाशित

वीरगन्ज, १४ भदौ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यहा“को जनजीवन त्रसित बनेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउ“सोदेखि पटक पटक झडप भइरहेको छ ।

यथार्थ तथ्याङ्क उपलब्ध नभए पनि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउ“सो ३ बजेसम्म करिब पाँच दर्जन हवाई फायर र दर्जनौँ राउन्ड आश्रु ग्यास प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रहरीले प्रहार गरेको रबरको गोली लागेर वीरगन्ज उपमहानगरपालिका– १० का कृष्णकुमार पटेल घाइते भएका छन् । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ । उनको टाउको तथा हातमा गोली लागेको बताइन्छ ।

झडपमा परी स्थानीय इर्फान अंसारी, अनवर हवारी, मनोजकुमार राम, मुन्नाकुमार यादवलगायत एक दर्जन व्यक्ति घाइते भएका छन् । उनीहरुको पनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । स्थिति अराजक हुन नदिन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न अहिले स्थानीय सुरक्षा समितिको बैठक बसिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया