सप्तरीमा माइक्रोबसमा तोडफोड र आगजनीको प्रयास

इनेप्लिज २०७२ भदौ १४ गते १०:२८ मा प्रकाशित

सप्तरी, १४ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी बजारमा एउटा माइक्रोबस तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन् ।

राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा प्रदर्शनकारीले ढुङ्गामुढा र लाठी प्रहार गरी तोडफोड गरेर आगजनीको प्रयास गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । तोडफोडबाट माइक्रोबसको अगाडिको भाग फुटेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले माइक्रोबसमा तोडफोडपछि आगो लगाउन प्रयास गरे पनि त्यहाँ
रहेको इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आगो लगाउनबाट जोगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उमेश यादवले जानकारी दिनुभयो ।

यसैबीच पूर्व–पश्चिम राजमार्गकोे रुपनीमै दुईवटा बसमा समेत ढुङ्गामुढा गर्दा बसको झ्याल फुटेर सामान्य क्षति भएको प्रहरीले जनाएको छ । अहिले सो ठाउँको अवस्था समान्य बनेको बताएको छ ।

मधेसी मोर्चाले सप्तरीमा १७ दिनदेखि बन्द जारी राखेकाले यहाँको अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।

प्रतिक्रिया