पत्रकार कल्याणकोष स्थापनार्थ ‘भाग्यले बाँचेका’ वृत्तचित्र प्रदर्शन

इनेप्लिज २०७२ भदौ १४ गते ७:४३ मा प्रकाशित

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquake-405x600रत्ननगर (चितवन), १४ भदौ । पत्रकार कल्याणकारी कोष स्थापनाका लागि आज चितवनमा वृत्तचित्र ‘भाग्यले बाँचेका’हरु प्रदर्शन गरिएको छ ।

पत्रकार गणेश पाण्डेद्वारा निर्देशित यो वृत्तचित्रलाई चितवनको नारायणगढस्थित गणेश हल प्रदर्शन गरिएको हो ।

प्रेस चौतारी चिवतनको आयोजनामा प्रदर्शन गरिएको वृत्तचित्रका लागि रु ५०० देखि एक हजारसम्मको टिकटको व्यवस्था गरिएको थियो ।

प्रदर्शनीबाट उठेको रकम चितवनका पत्रकारको कल्याणकारी कोषमा राखिने अध्यक्ष तीर्थ नेपालले जानकारी दिनुभयो । वृत्तचित्रमा भूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमूलक पात्रका कथालाई समेटिएको छ ।

उक्त वृत्तचित्रले वैशाख १२ गतेको भूकम्पलाई फेरि सम्झाइदिएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिनुभयो ।

भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना नेपालीको कथा उक्त वृत्तचित्रमा समावेश छ । भूकम्पमा परेका रमेश खत्री, रामप्रसाद भट्ट, बबिता सेढार्इं, पेम्वा तामाङ तथा उद्धारकर्तालगायतका अनुभव समावेश छन् ।

काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि खटिने ट्राफिक प्रहरी करण भण्डारी र हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ ।

पाँचतले घरले पुरिएर २२ घन्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका चार महिने सोनिस अवाल, सोनिसलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको मार्मिक विषय पर्दामा समावेश भएको निर्देशक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया